
पटना (भारत), १९ पुस । बिहारका प्रभावशाली नेता तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालु प्रसाद यादवसँग मधेशका युवा नेताहरुले भेटघाट गरेका छन् ।
तराई–मधेशमा चार महिनाभन्दा बढी समयदेखि जारी रहेको आन्दोलनको पक्षमा वातावरण निर्माण र समर्थन जुटाउने उद्देश्यका साथ राजदका अध्यक्षसँग भेटघाट गरिएको सद्भावना पार्टीका युवा नेता योगेन्द्र राय यादवले जनाएका छन् ।
आज बिहार प्रदेशको राजधानी पटनामा राजद अध्यक्ष यादवको निवासमा भेटघाट गरिएको सद्भावनाका युवा नेता यादवले जनाएका हुन् । भेटका क्रममा मधेशीले गरिराखेका आन्दोलनको बारेमा गम्भीरतापूर्वक सुन्दै समर्थन रहेको उनले प्रष्ट पारेका छन् ।
भेटमा योगेन्द्र राय यादव, कन्थमुनी कलवार, राजकुमार दास, दिनेश यादव, कौशर खान, रौतहट अनलाईनका पत्राकार संजय सहनी, श्यामबाबु चौधरीलगायतका मधेशी युवाहरु थिए ।



