रंजन भण्डारी, जलेश्वर १८ पुस । जारी आन्दोलनका कारण मधेशका उखु किसानहरु मर्कामा परेका छन् । करोडौं मूल्य बराबरको उखु खेतमै सुक्ने भएको छ ।
मध्य मधेशमा उखुहरुको क्रेता रामनगर चिनी मिलका सामाग्रीहरु नेपाल भित्रिन नसक्दा किसान मर्कामा पर्ने भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले रामनगर चिनीमिलको सामग्रीहरु नेपाल आउन दिने निर्णय गरेकोमा संघीय समावेशी मधेशी वठबन्धनले सो को विरोध गर्दै सो सामग्री आउन नदिने निर्णय गरेको छ ।
पुष १६ गते हजारौ किसानलाई चिनीमिल संचालनमा नआउँदा किसान मर्कामा परेको भन्दै मोर्चाले किसानलाई राहत दिदै चिनी मिलको सामग्री ल्याउन दिने निर्णय गरेको थियो ।
तर शनिवार गठबन्धनको वैठकले नाकाबन्दी कमजोर पार्न प्रयास भएकोले सो निर्णय नागरिक समाज र गठबन्धनलाई समेत मान्य नभएको भन्दै विरोध जनाएका हुन् ।
गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तीमा आन्दोलन बाध्यता भएकोले सवैले सोमा साथ दिन आग्रह समेत गरिएको छ ।




