हुलाकी न्यूज, काठमाडौं १८ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनबीच मोर्चाबन्दी भएर महागठबन्धन बन्नु पर्ने माग उठ्दै आएको छ ।
महागठबन्धन निर्माणका लागि मधेशका जिल्लाहरुमा छलफलसमेत भएको छ । केही जिल्लाहरुमा मोर्चा र गठबन्धन मिलेर सहकार्य हुँदै आएपनि केन्द्रमा मधेशी मोर्चा र गठबन्धनका नेताहरुबीचको व्यक्तिगत स्वार्थले महागठबन्धन निर्माण हुन नसकेको जिल्लाका नेताहरुले आरोप लगाउँदै आएका छन् ।
यता शुक्रबार गठबन्धनले जारी गरेको प्रेस विज्ञप्तिमा मधेशी मोर्चालाई महागठबन्धन निर्माण गर्न औपचारिक रुपमै आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘हठ र अहंकार त्यागी आन्दोलनकारी पक्षको एउटै बृहद् महागठबन्धन निर्माणको आम जन चाहनालाई मूर्त रूप दिन हामी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा हार्दीक आग्रह गर्न चाहन्छौं ।’
गठबन्धनमा रहेका दलहरुलाई मोर्चामा ल्याउने प्रयास दुई पटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गरेपनि त्यो सफल हुन सकेको थिएन । विरगंज र राजविराजको बैठकमा महतोले गठबन्धनका दलहरुलाई बोलाएका थिए । तर मोर्चाका अन्य नेताहरुको विरोधका कारण ती दलहरु मोर्चामा अटाउन सकेका थिएनन् । झन् राजिव राउतको श्रद्धाञ्जली सभामै मोर्चाका नेताहरुबीच विवाद भएको थियो ।
गठबन्धनद्वारा विरोधका कार्यक्रम सार्वजनिक
संघीय समावेशी मधेशी गठबन्धनले विरोधका थप कार्यक्रमहरु सार्वजनिक गरेका छन् । जारी गरिएको विज्ञप्तिमा आन्दोलनका कार्यक्रमहरु यस प्रकारका छन् ।
१. हाल जारी रहेको आम हडतालका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने ।
२. यस निम्ति पौष १९ गते मधेसका सबै शहर, बजारका व्यापारी, व्यवसायी, कल कारखाना, सबै खाले यातायात व्यवसायी, शिक्षण संस्थानहरू, किसान, मजदूर, छात्र जगत, नागरिक समाज, सरकारी गैर सरकारी कार्यालयहरू, बुद्धिजीवि, शिक्षक प्राध्यापक, नागरिक सबै वर्ग र पेशाका व्यक्ति र समुदायमा अपील तथा अनुरोध गर्ने ।
३. पौष २० गते मधेसका जिल्ला सदर मुकामहरूमा अहिलेको विकसित परिस्थितिको सन्दर्भमा सबै सम्मिलित अन्तरकृया गरी सशक्त आन्दोलनको तयारी गर्ने ।
४. पौष २२ गते सदर मुकाम र क्षेत्रहरूको महत्वपूर्ण बजारहरूमा कोण सभा गर्ने ।
५. पौष २४ गते सदर मुकाम र क्षेत्रहरूको महत्वपूर्ण बजारहरूमा लालटिन जुलुस प्रदर्शन गर्ने र सोही दिन सदर मुकाम र क्षेत्रहरूको महत्वपूर्ण बजारहरूमा मशाल जुलुस प्रदर्शन गरिने ।




