हुलाकी न्यूज, काठमाडौं, १७ पुस । पूर्वराष्ट्रपति डा.रामवरण यादवले फास्ट ट्रयाकबाट संविधान बनाउनु गल्ती भएको भन्दै यसले नेपालबाट मधेश पोखिन सक्ने बताए ।
यादवले मधेसमा देखिएको समस्या लोकतान्त्रिक प्रक्रियाबाट समाधान नगरिए मुलुकबाट मधेस पोखिने खतरा रहेको बताए । यादवले मधेश अलग हुन सक्ने संकेत गर्दै मधेश समस्यालाई समाधान गर्न आवश्यक रहेको बताएका छन् ।
नयाँ पत्रिकाका अनुसार बिपी विचार राष्ट्रिय समाजले प्रकाशन गरेको ‘राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला’ शीर्षकको पुस्तक विमोचन कार्यक्रममा बिहीबार पूर्वराष्ट्रपति डा। यादवले भने, ‘अहिलेसम्म मधेस देशभित्रै छ । तर, मधेसको समस्या लोकतान्त्रिक विधिबाट समाधान गरिएन भने पोखिने खतरा बढेको छ ।’
संविधानका विषयमा देखिएको मधेसको असन्तुष्टिलाई समेटेर मात्रै जारी गर्न आफूले गरेको आग्रहलाई बेवास्ता गर्दै विश्वमा चल्दै आएको परम्पराविपरीत ‘फास्ट ट्रयाक’को बाटो रोजेपछि समस्या आएको उनको भनाइ छ ।
‘फास्ट ट्रयाकबाट संविधान अहिलेसम्म संसारका कुनै मुलुकमा बनेको छैन । संविधान निर्माण गर्ने आफ्नै प्रक्रिया हुन्छ । सबै विषयहरूमा यथेष्ट डिस्कसन हुनुपर्छ भन्ने सुझाब मैले नेताहरूलाई दिएको थिएँ,’ पूर्वराष्ट्रपति यादवले भने । फास्ट ट्रयाकबाट संविधान जारी भए दुर्घटना हुने आफूले चेतावनी दिए पनि जनमत प्राप्त गरी बनेको राष्ट्रप्रमुखको कुरा नसुनिएको भन्दै उनले असन्तुष्टि पोखे ।




