हुलाकी न्यूज, जनकपुरधाम। विगत तीन दिनदेखि शान्त जनकपुर सोमबार एकाएक तनावग्रस्त बन्यो । २४ दिनदेखि बन्द रहेको जनकपुरमा केही दिन अगाडि प्रहरी–प्रदर्शनकारीबीच झडप भएको थियो । बन्द जारी रहेपनि तीन दिन यता जनकपुर पूर्णरुपमा शान्त थियो । तर मोर्चाले सोमबार हजारौँको संख्यामा लाठी जुलुश निकालेपछि जनकपुर एकाएक तनावग्रस्त बन्यो ।
पछिल्लो २४ दिनदेखि आन्दोलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दिउँसो ३ बजे जनकपुरको जनक चोकबाट लाठी जुलुश निकाल्यो ।
जनक चोकबाट सुरु भएको लाठी जुलुश नाराबाजी गर्दै शिव चोक, भानु चोक, कदम चोक, जिल्ला प्रशासन हुदैँ विषहारा चोक पुगेपछि प्रदर्शनकारीमध्येको एक समूह काँग्रेस पार्टी कार्यालय रहेको पिडरीया माईस्थानतर्फ लम्किएका थिए ।
पिडरीया माईस्थान नजिकै रहेको नेपाली काँग्रेस पार्टी कार्यालयतर्फ अगाडि बढेका प्रदर्शनकारीहरुले पेट्रोल छर्केर आगो लगाईदिए । अन्य दिन २४ घण्टै ड्यूटी गर्ने गरेको प्रहरी सोमबार कार्यालयमा आगो लागेको १० मिनेट पछि मात्रै पुगेको थियो । प्रहरीको टोली पुगेपनि कार्यालयमा दन्किरहेको आगोलाई नियन्त्रणमा लिने प्रयाससम्म गरेको देखिएन । करिब ३० मिनेटपछि पुगेको जनकपुर उपमहानगरपालिकाको वारुण यन्त्रले एक घण्टा लगाई आगो निभएको थियो ।
आगोले कार्यालयमा रहेको महत्वपूर्ण कागजातहरु, कम्प्यूटर, टेबल, सोफा, टेलिफोन, फ्याक्सलगायत सामग्रीहरु जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडिसमेत केहीबेर नाराबाजी गरेका थिए ।
काँग्रेस कार्यालयमा आगो लगाएर फर्केपछि प्रदर्शनकारीहरुको समूह एमाले पार्टी कार्यालयमा आगो लगाउन अगाडि बढेका थिए । जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएर रहेको एमाले पार्टी कार्यालयमा आगो लगाउन गएका प्रदर्शनकारी र काँग्रेस कार्यालयमा आगो लागेपछि सचेत भएका प्रहरीबीच जनकपुरको समशान घाट नजिकै झडप सुरु भयो ।
स्मशान घाटबाट सुरु भएको झडप विस्तारै राम चोक, जनक चोक, शिव चोक, भानु चोकतिर फैलिए । झडप दुईतर्फी ढुंगामुढा भएको थियो भने प्रहरीले रबरको गोली चलाएको छ । त्यस्तै दुई दर्जन भन्दा बढी अश्रुग्याँस र करिब १० राउण्ड भन्दा बढी हवाईफायर गरेको छ । जसबाट दर्जनौँ प्रदर्शकारी घाईते भएका छन् । प्रहरीले भानु चोकमा करिब १० जना युवालाई नियन्त्रणमा लिई कुटपीट समेत गरेका थिए ।
प्रहरीको गोली लागि तीन घाईते
सोमबार प्रदर्शनकारीहरुको समूहले काँग्रेस पार्टी कार्यालयमा आगो लगाएपछि तनावग्रस्त बनेको जनकपुरमा प्रहरीले गोली चलाउँदा तीन जना घाईते भएका छन् । घाईते हुनेहरुमा धनुषा धनौजीका रंजित साह, महोत्तरी बनौलीका रुपेश चौधरी, रतौलीका शोभित राउत रहेका । प्रहरी–प्रदर्शनकारीबीच झडप सुरु भएपछि प्रहरीले राम चोकबाट गोली चलाउँदा उनीहरु घाईते भएका हुन् । घाईतेहरुको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको छ ।
त्यस्तै झडपको क्रममा अन्य १५ जना भन्दा बढी सामान्य घाईते भएका छन् । उनीहरुको पनि जनकपुर अंचल अस्पतालमै उपचार भईरहेको मोर्चा घटक सद्भावनाका जिल्ला अध्यक्ष संजय सिंहले जानकारी दिए ।
झडपको क्रममा प्रहरीले २५ राउण्ड भन्दा बढी अश्रुग्याँस र १० राउण्ड हवाईफायर गरेको छ ।






