हुलाकी न्यूज, जनकपुरधाम १५ पुस । जनकपुरधाममा जारी आन्दोलनका क्रममा जानकी प्रहरी चौकी विवाद र झडपको केन्द्रविन्दु बनेको छ ।
धनुषा प्रहरीले उक्त चौकीमाथि आन्दोलनकारीहरुले ढुँगामुढा गर्नुको साथै पेट्रोल बंम प्रहार गर्ने गरेको दाबी गरेका छन् । तर आन्दोलनकारीहरुले उक्त चौकीका प्रहरीहरुले आन्दोलनकारीमाथि अधिक दमन गर्ने गरेको दाबी गर्छन् ।
विगत दुई दिनदेखी जनकपुधाममा चर्केको आन्दोलनको केन्द्रविन्दु जानकी प्रहरी चौकी बनेको छ । सोमबार र मंगलबार पनि जानकी प्रहरी चौकी अगाडि झड्प भएको छ भने पेट्रोल बंम प्रहार भएको प्रहरीको दाबी रहेको छ ।
यता आन्दोलनकारीहरुले भने उक्त चौकीका प्रहरीहरुले करिब एक सयभन्दा अधिक आन्दोलनकारीलाई घाइते बनाएको आरोप लगएका छन् । सोमबार र मंगलबार गरी जानकी प्रहरी चौकीले पत्रकारसहित घाइते आनदोलनकारीहरुलाई समेत नियन्त्रणमा लिएको छ ।
संयुक्त युवा संघर्ष समितिका संयोजक धर्मेन्द्र साहले हुलाकी न्यूजसँग कुराकानी गर्दै उक्त प्रहरी चौकीका प्रहरीहरुले सडकमा पानी खाइरहेका आन्दोलनकारीलाई निर्मम ढंगले कुट्नुका साथै बटुवाहरुलाई पनि कुटपिट गर्ने गरेको दाबी गरेका छन् ।
साहले आन्दोलनको क्रममा प्रहरीको कुटाईबाट घाइते भएर पोखरीमा भागेका आन्दोलनकारीलाई पनि बोलाएर कुट्ने र थुन्ने गरेको बताए ।
यता प्रहरीका अनुसार आन्दोलनकारीहरु उक्त चौकीलाई सँधै लक्षित गर्ने गरेको छ ।
प्रहरी चौकी हटाउन माग
बुधबार प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा जानकी प्रहरी चौकीमा स्थानीय भद्रभलादमी तथा आन्दोलनकारीहरुको संयुक्त छलफल भएको छ ।
छलफल पश्चात धनुषा प्रहरीले जारी गरेको विज्ञप्तिमा जानकी प्रहरी चौकीमाथि हुने गरेको क्रियाकलाप रोक्न सर्वपक्षीय छलफलबाट सहमति भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ,‘ विगत केहि दिन अघि देखी नेतृत्व विहिन समुहहरुले जानकी प्रहरी चौकिमा ढुङगामुढा तथा पेट्रोल बम प्रहार गरी जनकपुरको शान्ति सुरक्षामा असर पु¥याउने क्रियाकलापहरु गरिरहेकोले उक्त उच्छृखल गतिविधि नियन्त्रण गर्ने आज मिति २०७२।०९।१५ गते विहान ९स्३० बजेको समयमा जानकी प्रहरी चौकीमा प्रमुख जिल्ला अधिकारीको उपस्थीतिमा मासका जिल्ला संयोजक सरोज मिश्र, महाविर युवा कमिटिका धर्मेन्द्र शाह लगायत स्थीनिय बुद्धिजिवीहरु, समाजसेवी, व्यापारी तथा व्यवसायी, नागरिक समाज र स्थानिय बासिन्दाहरु समेत छलफलमा सहभागिले यस किसिमका अराजक गतिविधी नियन्त्रण गर्ने सहमति भएको छ ।’
यता संयुक्त युवा संघर्ष समितिका संयोजक तथा महाविर युवा कमिटीका अध्यक्ष धर्मेन्द्र साहले त्यस्तो सहमति नभएको दाबी गरेका छन् ।
साहले हुलाकी न्यूजलाई भने,‘हामीले केही दिनका लागि जनकी प्रहरी चौकी त्यहाँबाट हटाउन माग गरेका छौं । त्यस विषयमा छलफल भएको छ । तर प्रहरीले उल्टो विज्ञप्ति जारी गरेको छ ।’
साहले आन्दोलनलाई मथर पार्न प्रहरीले यस्तो गरेको दाबीसमेत गरे । उनले आफ्नो फेसबुकमार्फत पनि धनुषा प्रहरीको विज्ञप्तिको खण्डन गरेका छन् ।






