सप्तरी, १४ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका प्रभावशाली नेता तथा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको शीघ्र स्वास्थ्य लाभका लागि विशेष पुजा गरिएको छ । मधेश आन्दोलन सुरु भएसँगै मधेशकेन्द्रित भई लगातार आन्दोलनमा होमिएका महतोमाथि विराटनगरमा आक्रमण हुँदा मधेशभरि त्यसको विरोध भएको थियो ।
मधेश आन्दोलनको प्रमुख पात्रका रुपमा रहँदै आएका महतोमाथि सुनियोजितरुपमा नै आक्रमण गराइएको आरोप आन्दोलनकारीहरुको छ । गत शनिबार महतोमाथि निर्घात कुटपिट हुँदा उनी सिकिस्त भएका छन् । मंगलबार राजविराजको शिव मन्दिरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले महतोको शीघ्र स्वास्थ्य लाभका लागि विशेष पुजा गरेको छ ।
विराटनगर नाकामा धर्ना दिइरहँदा महतोमाथि सुरक्षाकर्मीले लाठी प्रहार गरेका थिए । महतोसहित दर्जनौं कार्यकर्ताहरु घाइते भएका थिए । महतोको स्वास्थ्य अवस्था अहिलेसम्म पनि सामान्य हुन नसकेपछि उनलाई धरानस्थित अस्पतालमा उपचार भइरहेको छ । महतोको स्वास्थ्य अवस्थामा सुधार नआएपछि स्वास्थ्य लाभका लागि विशेष पुजा गरिएको मोर्चाले जनाएको छ ।




