स्नेहा झा
प्रसिद्ध राजनीतिक विश्लेषक सीके लालको भनाईमा मधेश नेपालको आन्तरिक उपनिवेश हो । स्वतन्त्र मधेश देशका अभियन्ता डा.सीके राउतका अनुसार मधेश नेपालको उपनिवेश हो । दुबैको भनाईको सार तत्व एउटै हो, मधेशमा औपनिवेशिक शाषण छ । जारी मधेश आन्दोलनका क्रममा भएका घटनाक्रमहरुले यसलाई झनै प्रष्ट पारेका छन् ।
हुन त मधेश केही शताब्दी अगाडिसम्म स्वतन्त्र राज्यहरु नै थिए । वि.सं. १७९९ मा गोरखाका राजा भएका पृथ्वीनारायण शाहले गोरखा विस्तारिकरणको अभियान सुरु गरेपछि मात्र मधेशका केही स्थानहरु पहाडी शासकहरुको अधिनमा रहन पुगेको हो । बाँकी इष्टि इण्डिया कम्पनिसँगको सम्झौताको आधारमा नेपालसँग मिसियो । यस हिसाबले पनि मधेशलाई पहाडी देश नेपालको ऐतिहासिक भूमि भन्न सकिँदैन । तर अहिलेको समयमा मधेशमा नेपालको औपनिवेशिक शाषणको हाँगापात केलाउनुको सम्बन्ध कुनै बेलाको गोरखा विस्तारिकरण वा कथित नेपाल एकीकरणसँग छैन ।
अहिलेको आधुनिक युगमा पनि मधेशभित्र नेपालको औपनिवेशिक शाषण रहेको कुरा राजनीतिक घटनाक्रम, राज्य र सरकारको मधेशी जनताप्रतिको असंहिष्णु व्यवहार, पहाडी भूगोलका बासिन्दाहरुको मधेशीप्रतिको साम्प्रदायिक र सशंकित सोचले प्रष्ट पार्छ ।
औपचारिक रुपमा मधेश आन्दोलनको सुरुवात भएको लगभग पाँच महिना पुग्न आँटेको छ । सँधै झैं मधेशीलाई भारतीय ठान्ने प्रवृत्तिले मधेश आन्दोलनलाई भारतकै ग्रान्ड डिजाईन भनेर चित्रण गर्यो, अहिले पनि गरिरहेकै छ ।
नेपालले अहिले पनि मधेशलाई विजित राज्यकै रुपमा लिईरहेको र आफ्नो उपनिवेश ठानेको खुल्ला प्रमाण दिए राज्य संचालित सुरक्षा निकायहरुले । राजनीति र साम्प्रदायिकताभन्दा माथि उठेर केवल जनताको सुरक्षाको अभिभारा पाएको प्रहरीले आफ्नो साम्प्रदायिक सोचको घृणित रुप मधेशको सडकमा देखाए । नाबालकदेखि वृद्धसम्मलाई रिस, घृणा र बदलाको आवेगमा हत्या गरे ।
प्रहरीले त मधेशी नेपाली नभएको उदघोष नै गर्यो । देशको संविधानमा अधिकार खोजिरहेका जनतालाई भारतीय, मोदीको छोरा, धोती, बिहारीजस्ता साम्प्रदायिक शब्द र नैतिकताले बोल्न र लेख्न अनुमति नदिने असामाजिक शब्द प्रयोग गर्न कुनै हिचकिचाहट देखाएन । नेपाल देशभित्र स्वायत्त मधेश प्रदेश माँग्दै शान्तिपूर्ण आन्दोलन गरिरहेका मधेशीमाथि देशको भूभाग हडप्न खोजेको विदेशी सरह गोली बर्साइयो ।
सरकारको काम जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिनु र उनीहरुको चाहना, आवश्यकता आदिको कदर गर्नु हो । तर जब–जब मधेशीको कुरा आउँछ, राज्य र सरकारले शत्रु सरह व्यवहार गर्ने, अपमान गर्ने र सकेसम्म देशद्रोहीको रुपमा परिभाषित गरिछोड्ने हरसम्भव प्रयास गर्ने गरेको छ ।
सरकारले मधेशीप्रति राख्ने दरिद्र तथा पूर्वाग्रही मानसिकता जनकपुरका दुई घटनाले प्रष्ट पार्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो चोटि नेपाल आउँदा उनले जनकपुर र लुम्बिनी भ्रमण गर्ने निश्चित भएको थियो । त्यतिबेला सरकारले भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण किन रद्द गरायो, अहिलेसम्म बुझ्न सकिएको छैन । जनकपुर भ्रमणको सबै तयारी पुरा भइसकेको थियो । जनकपुरवासी मिथिलाको सांस्कृतिक सम्बन्ध जोडिएको देशबाट आउन लागेका विशिष्ट पाहुनाको स्वागतका लागि आतुर थिए ।
जनकपुर बेहुली झैं सिंगारिएको थियो । तर, मोदीको भ्रमण एक दिन अगाडि मात्र स्थगित गरियो । सरकारले सुरक्षाको कारण देखाउँदै भ्रमण रद्द गरेको थियो । जबकी मोदीको जनकपुर भ्रमणको लागि नेपाली सुरक्षा संयन्त्र मात्र नभएर भारतीय सुरक्षा संयन्त्रले पनि सबै तयारी पुरा गरेका थिए । न भारतले न मधेशीले नै सुरक्षाको कारण मोदीको भ्रमण रद्द गरिएको स्विकारे । त्यतिबेला सरकारसँग मधेशी जनताको भावनाको अपमान र मधेश विकासमा बाधा सिर्जना गर्नुबाहेक अर्को कुनै जायज कारण थिएन ।
त्यँही केही दिन पहिले विवाहपञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुर भ्रमण गरिन् । अहिलेको संवेदनशील राजनीतिक अवस्थामा राष्ट्रपति भण्डारीले जनकपुरको भ्रमण गर्न नहुने राज्य संयन्त्रहरुले नै बताईरहँदा पनि राष्ट्रपति भण्डारी जनकपुर पुगिन् । त्यँहा पनि मधेशी जनताको भावनाको अपमान गरियो । काठमाडौं अर्थात गोरखा विस्तारिकरणपछि नाम दिइएको नेपालभित्र मधेशी मात्र विजित राज्यको जनता रहेको प्रमाण पेश गरियो । मधेशी जनता मात्रको अपमान गरिएन, महिनौंदेखिको मधेश आन्दोलनको पनि अपमान गरियो ।
नेपालको अहिलेको भौगोलिक स्वरुपको निर्माण भएको पनि दुई सय वर्ष पुरा भइसक्यो । तर, दुई सय वर्ष बितिसक्दा पनि पहाडी शासकहरुले मधेशीलाई नेपालीको रुपमा स्विकार्न सकेनन् । मधेशले नेपाललाई आफ्नो भूमि दियो । मधेशीले आफ्नो श्रम दिए । लुम्बिनी, जनकपुरजस्ता विश्वकै पौराणिक र ऐतिहासिक सम्पदालाई आफ्नो भन्न सक्ने गौरव दियो ।
कुनै गैरमधेशीले नेपाललाई जे जति दिन सक्थे, त्यसभन्दा धेरै बढी मधेशी जनताले दिए । बदलामा मधेश र मधेशीले नेपालबाट शोषण र अपमान मात्र पाए । मधेशको भूमि र संस्कृतिको दोहन गरियो, उल्टो मधेशीमाथि नै भारतबाट नेपाल छिरेको आरोप लगाइयो । मधेशीले आफ्नो राष्ट्रियतालाई हृदयमा राखेर नेपाली राष्ट्रियतालाई शिरमा सजाए । तर पनि उनीहरु सँधै सौतेलो नै भए ।
मधेशीलाई औपनिवेशिक शासणभित्र रहनु अब स्विकार्य छैन । मधेश या त नेपाल देशभित्र स्वायत्त, स्वतन्त्र र पूर्ण अधिकार प्राप्त प्रदेश भएर रहनेछ, होइन भने पहिले जस्तै एउटा अलग देश भएर । तर, नेपालभित्रको उपनिवेश भएर कदापी रहने छैन ।
यदि कसैलाई मधेशी भएकोमा आपत्ति छ भने मधेशीले आफ्नो नेपाली हुनुको पहिचान गुमाउनु पर्ने हुन्छ । तर, मधेशी हुनुको पहिचान गुमाउन सकिदैन । मधेशीलाई नेपाली पहिचान राजनीति र शक्तिको दाउपेचले दिएको हो भने मधेशी पहिचान जन्म, पुर्खाको इतिहास र पौराणिक संस्कृतिसँग जोडिएको छ ।
अब यो काठमाडौं अर्थात नेपालले तय गर्ने कुरा हो, मधेशीलाई नेपालीको रुपमा पनि स्विकार गर्ने या मात्र मधेशी हुनुको पहिचान फिर्ता दिने ?




