हुलाकी न्यूज, सर्लाही १४ मंसिर । पछिल्लो समय सर्लाहीमा मधेशी र गैरमधेशीबीचको फाटो बढ्दै गएका बेला एमालेका एक जना मधेशी नेताको हत्या भएको छ । र, एमालेका जिल्ला अध्यक्ष रेवती पंतले हत्या राजनीतिक कारणले नभई व्यक्तगत कारणले भएको हुन सक्ने प्रतिक्रिया दिएका छन् ।
सर्लाहीका एमाले कार्यकर्ताहरु चुरेभावरको आडमा मधेशीहरुमाथि आक्रमण गर्दै आएको यसअघिका घटनाहरुबाट प्रष्ट भईरहँदा मधेश आन्दोलनलाई सहयोग गर्दै आएका एमाले नेताको हत्या हुनुले धेरै प्रश्नहरु पैदा गरेको घटना स्थलमा पुगेका पत्रकारहरुले हुलाकी न्यूजलाई बताएका छन् ।
मंगलबार विहान मोर्निङ्ग वाकमा गएका एमालेका जिल्ला कार्यसमिति सदस्य रामनरेश यादवको हत्या भएको छ । गाउँ नजिकैको सडकमा यादवको हत्या भएको हो ।
यादवमाथि पहिले खुर्सानीको धुलो दलिएको र त्यसपछि टाउको तथा मुखमा खुकुरी हानिएको एसपी केदार ढकालले हुलाकी न्यूजलाई बताए ।
स्थानीयवासीहरुका अनुसार नेता यादव पछिल्लो समय मधेशमा जारी आन्दोलनलाई समर्थन गर्दै आएका थिए । निष्ठावन नेताका रुपमा चिन्हिएका यादव उक्त गाविसका पूर्वगाविस अध्यक्ष पनि थिए ।



