हुलाकी न्यूज काठमाडौं १४ पुस । नेपाली सेनाको पृतनापतिहरुको समन्वयात्मक बैठकले मधेशमा स्वतन्त्र मधेश पक्षधरहरु हावी हुन सक्ने निष्कर्ष निकालेको छ ।

सोमबार जंगी अड्डामा सम्पन्न उक्त बैठकमा सहभागि पृतनापतिहरुले तराई–मधेश आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गरी सम्मानजनक अवतरण गर्नुपर्ने निष्कर्ष निकाल्दै सम्मानजनक आवतरण नभए विखण्डनकारी शक्ति हावी हुने र त्यो झन् खतरनाक हुने ठहर गरेको छ ।

एक पृतनापतिलाई उधृत गर्दै नयाँ पत्रिकाले लेखेको छ, ‘विखण्डनको अवस्था तत्काललाई निरुत्साहित गर्न सकिन्छ, तर दुई–तीन पुस्तापछि फेरि त्यो मानसिकताले स्पेस लिन्छ । यसमा अहिले नै विचार गर्नुपर्छ, ‘तराईको भविष्य सोचेर अहिले नै सरकारले तय गर्नुपर्छ– अमृत रोप्ने कि विष रु किनभने परिस्थिति भड्किँदैछ ।’

बैठकको सुरुवातमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल र रक्षासचिव जयमुकुन्द खनाललाई पनि बोलाइएको थियो । बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री रावलले देश संवेदनशील अवस्थामा रहेको वेला समन्वयात्मक बैठक आयोजना भएकोमा सराहना गरे । ‘राष्ट्र र जनताको सर्वोत्तम हित र सुरक्षाका लागि उत्पन्न हुनसक्ने परिस्थितिको आँकलन गरी जस्तोसुकै चुनौतीको पनि सामना गर्नसक्ने गरी नेपाली सेनालाई आधुनिकीकरण गर्दै साधन र स्रोतसम्पन्न बनाई तयारी हालतमा राख्नुपर्छ,’ मन्त्री रावलले भने ।

बैठकमा पृतनापतिहरूले तराईमा राष्ट्रिय सुरक्षा कमजोर भएको भन्दै सेनाले निर्वाह गर्ने भूमिका र आन्दोलनको ‘रेडलाइन’ के हो भन्दै प्रश्न गरेका छन् । ६ वटै पृतनापति तथा उपत्यकास्थित महानिर्देशनालय र विभागीय प्रमुखसहितको बैठकमा सैनिक जर्नेलहरूले तराईको आन्दोलनलाई राजनीतिक रूपमा सम्बोधन गर्दै अवतरण गर्नुपर्नेमा जोड दिएका थिए ।

पत्रिकाले उच्च सैनिक स्रोतलाई उधृत गर्दै पूर्वी, मध्य, पश्चिम र सुदूरपश्चिम पृतनापतिले मुलुकको राष्ट्रिय सुरक्षाका लागि खडा भएको सेनाले कुन अवस्थासम्म चुप लागेर बस्ने र कुन अवस्थामा सक्रिय हुने भन्ने स्पष्ट अवधारणा बनाउनुपर्ने माग गरेका थिए । उनीहरूले राष्ट्रिय सुरक्षाको ‘रेडलाइन’ स्पष्ट पार्नसमेत सरकारसँग माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.