रंजन भण्डारी, जलेश्वर १३ पुस । सोमबार विहानदेखि महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रहरी र आन्दोलनकारीबीच झडप सुरु भएको छ । झडपमा ११ वर्षीय स्कुले बालक घाइते भएका छन् ।
विहानदेखि दुई पटक ढुगां हानाहान हुँदा दुर्गा चोकमा एक स्कुले बालकको टाउकोमा चोट लाग्दा ३ वटा टाका लगाइएको छ ।
जलेश्वर ४ का शिवचन्द्र चौधरीका ११ वर्षीय छोरा अमित कुमार चौधरी एडभान्स स्कुलबाट फर्कने क्रममा राष्ट्रिय बाणिज्य बैंक तिरबाट फ्याकेको ढुगांले बच्चाको टाउको फुटेको हो ।
अन्य दिनभन्दा प्रहरीको उपस्थिति बढी रहेको दुर्गाचोकमा फेरी पनि अवस्था विग्रन सक्ने देखिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा महोत्तरीले आईतबार नै प्रेस विज्ञप्ती जारी गर्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरी दमनको विरुद्ध पुष १५ गतेसम्मका लागि सबै शैक्षिक संस्था बन्द गर्न आव्हान गरेपनि जलेश्वरका अधिकांश विद्यालय भने विज्ञप्ती बारे जानकारी नभएको भन्दै विद्यालय संचालन गरेका छन् ।




