हुलाकी न्यूज, काठमाडौं १३ पुस । मधेशमा आन्दोलन जारी रहेको बेला स्वतन्त्र मधेशका लागि जनमत संग्रहको तयारी हुँदैछ । स्वतन्त्र मधेश गठबन्धनले स्वतन्त्र मधेशका लागि नमुना जनमत संग्रहको परिक्षण गरेको छ ।
गठबन्धनका अनुसार मधेशका जिल्लाहरुमा नमुना जनमत संग्रह गरिदैछ । पहिलो चरणमा सिरहासहितका जिल्लामा जनमत संग्रह भएको छ ।
सिरहामा भएको जनमत संग्रहमा स्वतन्त्र मधेशको पक्षमा अत्याधिक मत खसेको बताइएको छ ।
गबन्धनले सिरहाको कृष्णपुर गाविसको वार्ड नम्बर ८ र ९ मा जनमत संग्रह गरेको थियो । गठबन्धन सिरहाका संयोजक संजय यादवका अनुसार वैधानिक तवरले जनमत संकलन गरिएको बताउँदै ‘राज्यले जुन प्रकृया अपनाएर निर्वाचन गराउँछ ।
त्यस्तै प्रकृया अपनाई हामीहरुले पनि नमुना जनमत संग्रह गरेका छौं,’ उनले भने, ‘हाम्रो जनमत संग्रह कार्यक्रम दबाबरहित शान्तिपूर्ण तवरले सफल भएको छ ।’
गठबन्धनले शनिवार विहान ८ देखि १२ बजेसम्म उक्त वडामा मत पेटिका राखेर मतदानमा सहभागी हुन आग्रह गरेका थिए । कृष्णपुर गाविसको ८ र ९ वडाका ४८७ मतदातामध्ये ३ सय ३८ जनाले जनमत संकलनमा मतदान गरेका छन् । नेपाल र मधेशको झण्डा रहेको मतपत्रमध्ये कुनै एकमा मतदान गर्न गठबन्धले स्थानीय मतदाताहरुलाई आग्रह गरेका गठबन्धनका राजकुमार त्यागीले बताए ।
४० मत बदर भएको यस जनमत संग्रहमा मधेश देशको पक्षमा अत्याधिक मत खसेको थियो । निर्वाचन अधिकृत सुदिप कुशवाहाका अनुसार २ सय ९४ सदर मतमध्ये २९१ मत अलग मधेश देशको पक्षमा र ३ मत नेपाल देशको पक्षमा खसेको बताए ।
जिल्लाको तीन वटा गाविसमा जनमत संकलन गर्ने कार्यक्रम रहेपनि नमुनाको लागि कृष्णपुर गाविसमा जनमत संकलन गरिएको यादवले बताए । जनमत संकलनमा स्थानीय महिलाहरुको सख्या अत्याधिक रहेको थियो ।
गठबन्धनले जनमत संग्रहको लागि पर्यवेक्षकका रुपमा स्थानीय अगुवाहरु र संञ्चारकर्मीलाई समेत सहभागी भई दिन आग्रह गरेका थिए ।






