
विराटनगर, १२ पुस । विराटनगरमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो उपर गरिएको प्रहरी आक्रमणको तराई मधेश राष्ट्रिय अभियानले भर्त्सना गरेको छ । तमराले अभियानले महतोमाथि भएको आक्रमणको जति नै निन्दा गरेपनि कम हुने उल्लेख गरेको छ ।
‘सरकारलाई थाहा छ, वीरगंज लगायत केही नाकाहरूमा अवरोध छ । यो अवरोध हटाईदिन स्वंय सरकारबाट आन्दोलनकारी पक्षलाई अनुरोध गरिएको छ । यस पृष्ठभूमिमा बिराटनगरको रानी नाकामा केही बेर धरना बस्दा यस प्रकारको जघन्य आक्रमण गरिनुलाई कुनैपनि आधारमा परिस्थितिजन्य घटना भन्न मिल्दैन’ तमरा अभियानको विज्ञप्तिमा उल्लेख छ ।
यसरी नै पुस ९ गते बिराटनगरमै संघीय समावेशी मधेसी गठबन्धनको बिरोध सभामा बिना कुनै कारण स्थानीय प्रहरीले आक्रमण गरी मंच तथा ध्वनीयन्त्रहरू तोडफोड गरिएको अभियानको आरोप छ ।
यी सबबाट सरकार आफै वार्ताको वातावरण बिगार्न चाहेको सिद्ध भएको अभियाको निष्कर्ष छ । यस घटनाको जिम्मेवारी सरकारले लिनु पर्ने माग गर्दै यस जघन्य कारवाहीका दोषी उपर तत्काल कारवाही गरिनुपर्ने माग गरिएको छ । तमरा अभियान ओली सरकारको यस कारवाहीको जोडदार रूपमा भर्त्सना गरेको छ ।



