
हुलाकी न्यूज, विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि सुन्योजित आक्रमणको पुष्टि भएको छ ।
महतोमाथिको आक्रमण प्रहरी र भिजलान्तेहरुको योजनामा भएको सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहताले हुलाकी न्यूजलाई बताएका छन् । हुलाकी न्यूजलाई प्राप्त तस्बिरहरुमा पनि त्यस्तो देखिएको छ । अर्कोतर्फ शनिबार विहानैदेखिको घटना क्रम केलाउँदै जाँदा महतोमाथि आक्रमण गर्ने योजना पहिले नै बनेको र केही व्यक्तिहरु मोर्चाको हुलमा घुसपैठ गरेको देखिन्छ ।
नाकामा धर्ना नदिन महतोलाई चेतावनी

शनिबार विहान रानी गाउँ नजिकको महतो टोलमा कार्यक्रममा सहभागी हुन राजेन्द्र महतो गएका थिए । उक्त कार्यक्रमबाट फर्किने क्रममा एक जना प्रहरी जवानले महतोलाई भेटेर धर्ना कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए ।
त्यो प्रहरी जवानले महतोलाई भनेका थिए, ‘आज भन्सारमा धर्ना दिने कार्यक्रम रोक्नुस्, त्यो कार्यक्रम जसरी पनि रोक्न प्रहरीलाई माथिबाट आदेश आएको छ । त्यो कार्यक्रममा गोली पनि चल्न सक्छ ।’
उनको कुरालाई नजरअन्दाज गर्दै राजेन्द्र महतोसहितको टोली खाना खान गन्तव्य तिर लागेको थियो ।
यसरी भयो आक्रमण
राणा कालमा साहादत प्राप्त गरेकाहरुको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएर महतो करिब सात सय कार्यकर्तासहित चार बजेतिर धर्ना स्थलमा पुगे । विराटनगर भन्सारको एक नम्बर ढाठमा बस्न गए । त्यसभन्दा पहिले पनि प्रहरीले रोक्ने खाजे तर कार्यकर्ताहरु अधिक भएकोले रोक्न सकेनन् ।
धर्नामा बसी सकेपछि नेपाल प्रहरीले महतोसहित धर्नामा बसेका कार्यकर्ताहरुलाई घेरा हाले । पहिलो लाईनमा नेपाल प्रहरी थिए भने दोस्रो लाईनमा सशस्त्र प्रहरी थिए ।
सशस्त्र र जनपद गरी प्रहरीको संख्या पनि करिब पाँच सयको हाराहारीमा रहेको थियो ।
प्रहरीले पुर्णरुपमा घेरा हालीसके पछि नेपाल प्रहरीका इन्सपेक्टर गंगा पौडेल राजेन्द्र महतो भएको ठाउँमा पुगे । पौडेलले महतोलाई धर्नाबाट उठ्न भन्दै थिए । र प्रहरीहरुलाई अगाडि बढ्न इसारा गर्दैै थिए ।
धर्नामा राजेन्द्र महतोसँगै बसेको प्रवक्ता संतोष मेहताका अनुसार इन्सपेक्टर पौडेलले पहिलो लाठी राजेन्द्र महतोमाथि नै चलाए । मेहता भन्छन्, ‘कुरा गर्दैगर्दा इन्सपेक्टरले महतोमाथि लाठी हानेपछि कार्यकर्ताहरु उठे । महतोलाई तेन्जीङ्ग लामाले बचाए । लामा महतोको जिउमा चढेपछि प्रहरीहरुले चलाएको लाठी र बुट लामालाई लागे ।’
महतोमाथिको कुटपिटको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रहरीले घेरा हालेर लाठी चार्ग गर्न थालेपछि महतोलाई घिर्सादै प्रहरीले भ्यानसम्म लगेका थिए । कार्यकर्ताहरु आक्रमक बन्दै ढँुगा हान्न थाले र प्रहरीको भ्यानसम्म लगेका महतोलाई छोडेर प्रहरी पछाडि सरे ।
त्यसपछि कार्यकर्ताहरुले महतोलाई जोगबनी लगेको भारतीय टिभी आजतकका संवाददाता पंकज दासले हुलाकी न्यूजलाई बताए ।
जोगबनीमा प्राथमिक उपचार पछि एउटै एम्बुलेन्समा महतोसहित पाँच जना घाइते कार्यकर्ताहरुलाई विराटनगरको गोल्डेन अस्पतालमा ल्याइयो ।
शनिबार अबेर रातीसम्म महतोको उपचार गोल्डेन अस्पतालमा हुँदैछ ।
धर्नामा भिजलान्ते
धर्ना स्थलमा झड्प सुरु हुनुभन्दा पहिले दुई जना पहाडी मुलका युवाहरु मुखमा मास्क बाँधेर गुलेली हान्दै थिए । ती युवाहरुले सुरुमै अनावश्यक तरिकाले गुलेली हानेको देखेपछि मोर्चाका कार्यकर्ताहरुले ती युवाहरुलाई प्रहरीको जिम्मा लगाएका थिए ।
तर प्रहरीले ती युवाहरुलाई तत्कालै छाडेका थिए ।
त्यसअघि महतो सहभागी भएका कार्यक्रमहरुमा पनि अपरिचित पहाडी युवाहरु सहभागि थिए । उनीहरु भिड्लाई भड्काउने प्रयास गर्दै थिए । (तस्बिर)
अस्तालमा घेरा
महतोको उपचारको क्रममा अस्पताल बाहिर रहेका मोर्चाका आक्रोसित कार्यकर्ताहरुले एउटा बसमा तोडफोड गरेपछि प्रहरीले पुनः लाठी चार्ज गरेका थिए । लाठी चार्जबाट कार्यकर्ताहरु घाइते भएका छन् ।
शनिबार अबेर रातिसम्म प्रहरीले गोल्डेन अस्पताललाई घेरा हालेको छ ।








