
जनकपुरधाम, ११ पुस । धनुषाको पूर्वी क्षेत्र दुवरकोट हथलेटवा–९ निवासी मिठुवा कुमार ठाकुर वैदेशिक रोजगारीको सिलसिलामा ८ बर्ष अगाडी साउदी अरब पुगे । स्थानीय एकजना एजेन्टले त्यहाँ कार्पेन्टरको काम मिल्ने भन्दै एक लाख १० हजार रुपैयाँ लिएर पठायो । तर, ठाकुरलाई त्यहाँ कार्पेन्टरको काम नदिई लेवरको काममा खटाए ।
अशिक्षित ठाकुरले लेवरको काम पाएपनि र ऋणको बोझका कारण बाध्य भई काम गर्न थाले । स्थानीय साहु महाजनबाट सयकडा चार प्रतिशतको दरले लिएको ऋण र परिवारलाई सम्झदै मासिक ६०० रियालमा निरन्तर ७ वर्षसम्म काम गरे ठाकुरले ।
कामको क्रममा एक जना पाकिस्तानी साथीको सहयोगमा डोजर चलाउन सिकेर पछि उनी चालकको रुपमा काम पाए । सन् २०१३ देखि मासिक ११०० रियालमा काम थालेका ठाकुर कामकै क्रममा २०१४ जुन ४ का दिन दुर्घटनामा परि देब्रे खुट्टा पुर्णरुपमा गुमाउन पुगे । कम्पनीले तत्काल उपचार गराए । एक महिना १० दिनको अस्पताल बसाई पछि कम्पनीमा आई ठाकुरले पाउनुपर्ने विमाको रकमबाट कट्टा गरि अठार हजार रियाल र तलव तथा बोनस गरि १२ हजार ६ सय ४८ गरि ३० हजार ६ सय ४८ रियाल लिई स्वेदश फर्के ।
ठाकुर अहिले १३ वर्षीया एक छोरी, ११ र ९ वर्षका दुई छोरा, श्रीमती र आफैँ गरि ५ सदस्यीय परिवारको दैनिक जीविकोपार्जन तथा बालबालिकाको शिक्षा लगायतका अतिआवश्यक आधारभुत आवश्यकताहरु पुरा गर्न कठिनाई भईरहेको र कतैबाट केही सहयोग पाईएन भनि ठाकुरले गुनासो पोखे ।
वैदेशिक रोजगारीमा जाँदा केही जानकारी नभएकोले लगातार ८ बर्ष बसे र अहिले यस्तो अवस्थामा पुगेकोले जीविकोपार्जनमा सहयोग गरिदिन सेफ नेपाल नामक एक गैरसरकारी मार्फत संस्था सबैसँग आग्रह गरेका छन् । बुधबार ठाकुरलाई भेटन पुगेका संस्थाका अध्यक्ष रामप्रमेश मण्डलसँग उनले सहयोगको लागि पहल गरिदिन आग्रह गरे ।



