मनोज, दिलीप/ सप्तरी, २१ भदौ । आइतबार बिहान तराई मधेसका अन्य क्षेत्रमा जस्तै भारदहमा पनि श्रीकृष्ण जन्माष्टमी मनाउने तयारी चल्दै थियो । सबैका घरमा पूजा मन्दिर बनाइएको थिए । तर, भारदहकै राजीव राउतको घर सुनसान थियो ।
बाजागाजाका साथ स्थानीय रमझम गरिरहँदा राजीवकी श्रीमती निलमको गहका आँसु ओभाएका थिएनन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा चलिरहेको मधेस आन्दोलनको तेस्रो दिन भारदहमा प्रहरीको गोली लागेर ढलेका राजीव उठेनन् । आइतबार राजीवको घरमा पुग्दा राजीवका बुबा भीमे गाईगोठबाट दुवै हात जोड्दै बाहिर निस्किए । तर, छोराको निधनको पीडाले राम्ररी बोल्न सकेनन् । ‘म घरमै थिएँ । ऊ कतै निस्कियो, केही समयपछि गोलीको आवाज आयो, उसलाई लागेछ,’ उनी भावुक बने, ‘ऊ गोली लागेर मर्यो, मैले यो आन्दोलन मधेस प्रदेशभन्दा अरू बुझेको छैन ।’
उनले मधुरो स्वरमा थपे, ‘यो घर हेर्नुहुन्छ ? यो घरमा हरेक वर्ष मूर्ति बनाएर कृष्णाष्टमी पर्व मनाउथेँ । तर, भगवानले मेरो छोरालाई लिएर गए । भगवानले छोरालाई नलगेको भए अरू घरमाझैँ मेरो घरमा पनि रमझम हुन्थ्यो ।’राजीवको घरको आँगनमा पुग्दा उनकी आमा मदियादेवी भान्छाबाट निस्किइन् । ‘मेरो छोरा मर्यो, अब के गरेर बस्नु ? उनी भावुक बनिन् । हातमा दूधे बालक लिएकी निलम भने बोल्न सकिनन् । उनी तीनमहिने छोरी समातेर उभिएकी थिइन्, उनको १८ महिने छोरालाई दाजुले समातेका थिए ।
तीन ठूला दलले ल्याएको सीमांकनको विरोधमा संयुक्त मधेसी मोर्चाले ३० साउनदेखि मधेस आमहडतालको आह्वान गरेको थियो । सो क्रममा प्रदर्शन गरिरहेका भारदहका स्थानीयवासी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागि १ भदौमा २४ वर्षीय राजीव राउतको ज्यान गएका थियो । रावतको निधनसँगै सप्तरीमा मधेस आन्दोलन चर्कंदै गएको छ । अहिले सदरमुकाम राजविराज, भारदह, रुपनी, कल्याणपुर, हनुमाननगर, नारदह, कठौनालगायतका केन्द्रमा आन्दोलन चर्कंदै गएको छ । उनीहरूले ती ठाउँमा दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शन र विरोधले २३औँ दिनसमेत सप्तरीको प्रमुख बजार ठप्प छन् । सामुदायिक तथा संस्थागत सबै विद्यालय पूर्ण रूपमा ठप्प छन् । पूर्वपश्चिम लोकमार्गमा २३ दिनदेखि दिनभर लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । राति भने सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना लगाएर लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाउने गरिएको छ । लगातारको बन्दले भएका कलकारखाना चलेका छैनन् भने बजारमा दैनिक उपभोगका सामग्री अभाव हुन थालेको छ ।
सप्तरीको सडकमा सेना
जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको कुनै पनि क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा नगरे पनि पूर्व–पश्चिम लोकमार्गमा नेपाली सेना खटिने गरेको छ । आइतबार बिहान जिल्लाको कदमाहा, रुपनीलगायतका ठाउामा सेना खटिएका थिए ।
तर, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जिल्ला सुरक्षा समितिले नेपाली सेना परिचालनका लागि कुनै निर्णय नगरेको र सेना परिचालनसमेत नभएको बताए । उनले नेपाली सेना नियमित अभ्यासका लागि बाहिर निस्केको हुन सक्ने भन्दै अनविज्ञता प्रकट गरे ।
दैनिक १५ लाखको केरा खेर जाँदै
भारदहमा झन्डै पााच सय बिघामा केराखेती गरिएको छ । त्यसबाट कम्तीमा दैनिक पााच ट्रक केरा उत्पादन हुन्छ । तर, अहिले केरा बोटमै कुहिरहेको छ ।
वीरेन्द्रकुमार यादव, प्रमुख जिल्ला अधिकारी
हामी आन्दोलनलाई शान्तिपूर्ण बनाउनुस् भनेर आग्रह गरिरहेका छौँ । मैले प्रमुख जिल्ला अधिकारीको हैसियतले समन्वय पनि गरिरहेको छु । आन्दोलनकारी कहिले शान्तिपूर्ण हुन्छन्, कहिले उग्र पनि भइहाल्छन् । बन्दले जनजीवनमा प्रभाव त परेको छ नै । तर, त्यति धेरै प्रभाव परेको छैन । खाद्यान्नको संकट हुँदैन । मलको पनि खासै समस्या छैन । हामीले अत्यावश्यक सामग्रीको आपूर्ति गरेका छौँ ।
दिनेश यादव, संयोजक, मधेसी मोर्चा, सप्तरी
आन्दोलनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ । यहाँका अन्य दल सामाजिक संघसंस्था सबै शान्तिपूर्ण आन्दोलनको समर्थनमा छन् । हामीले खोजेको पहिचान र अधिकार हो । २०६३ मा मधेसीसँग गिरिजाप्रसाद कोइरालाले गर्नुभएको सम्झौता कार्यान्वयन भए हामीलाई पुग्छ । अब आन्दोलनको स्वरूप परिवर्तन गर्छौँ । अबको आन्दोलन राज्यको गतिविधिमा भर पर्छ । दमन भए प्रतिरोध अवश्य हुन्छ । – नयाँ पत्रिका/तस्विर : ज्ञानेन्द्र कार्की



