हुलाकी न्यूज, जनकपुरधाम, २१ भदौ । अनिश्चितकालीन मधेश बन्दको क्रममा पछिल्लो ३ हप्ता भन्दा बढीदेखि बन्द जनकपुरमा सोमबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वृहत लाठी जुलुस निकाल्ने भएको छ । बन्द अवधिभित्र मोर्चाले यसअघि पनि दुई पटक लाठी जुलुस, दर्जनौ पटक मोटरसाईकल जुलुसलगायत दिनहुँ विभिन्न किसिमको जुलुस प्रदर्शन गर्दै आएको छ ।

जुलुसको तयारीमा मोर्चाका केन्द्रिय, जिल्ला स्तर तथा स्थानीय नेताहरु गाउँ दौडाहामा निस्केका छन् । गाउँ–गाउँमा पुगेर मोर्चाका नेताहरुले मधेश आन्दोलनको औचित्यको बारेमा ‘व्रिफिङ्ग’ गर्दै सोमबार हजारौं जनतालाई सदरमुकाम जनकपुर ल्याई प्रदर्शन गर्न लागेको सद्भावना जिल्ला अध्यक्ष संजय सिंहले जानकारी दिए ।

लाठी जुलुसमा १० हजार भन्दा बढीको सहभागिता रहने सिंहको दाबी छ ।

मोर्चा स्रोतका अनुसार लाठी जुलुसका लागि मोर्चा घटक सद्भावना जिल्ला अध्यक्ष सिंह, तमलोपा जिल्ला अध्यक्ष परमेश्वर साह, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष शेषनारायण यादव, तमसपाका जिल्ला अध्यक्ष रुपकुमार मण्डल जिल्लाको भित्री ग्रामिण भेग पुगेका छन् भने सोही पार्टीका केन्द्रिय नेताहरुलाई सदरमुकाम जनकपुर आसपासका गाउँहरुमा पुगेर जनतालाई ‘व्रिफिङ्ग’ गर्ने जिम्मा दिइएको छ ।

सोही अनुरुप सद्भावना अध्यक्ष संजय सिंह क्षेत्र नं. ६, तथा ५ को अधिकांश गाउँ पुगेर आम जनसमुदायलाई मधेशको अधिकारको बारेमा ‘व्रिफिङ्ग’ गरेका छन् भने तमसपा जिल्ला अध्यक्ष रुपकुमार मण्डल क्षेत्र नं. १ र २ को गाउँमा पुगेका छन् ।

त्यस्तै तमलोपा अध्यक्ष परमेश्वर साह क्षेत्र नं. ५ र २ तथा संघीय समाजवादी फोरमका अध्यक्ष शेषनारायण यादव पनि क्षेत्र नं. ५ मा पुगेका छन् । त्यस्तै केन्द्रिय स्तरका नेताहरु सदरमुकाम जनकपुर तथा आसपासका गाउँ पुगेर जनतालाई सडकमा आउन आह्वान गरेका छन् ।

गाउँ–गाउँ पुगेर जनतालाई मधेशको अधिकारको बारेमा ‘व्रिफिङ्ग’ गरेपछि जनताहरुले मधेशको लागि जस्तोसुकै बलिदानी दिन तयार रहेको प्रतिवद्धता जनाएको सद्भावना अध्यक्ष सिंहले बताए । उनले सोमबारको लाठी जुलुसमा १० हजार भन्दा बढीको सहभागिता रहने दाबी गरे ।

लाठी जुलुस सोमबार दिउँसो जनकपुरको जनक चोकबाट निस्किने मोर्चाले जनाएको छ । जुलुसमा आम जनसमुदाय, वुद्धिजीवी, नागरिक समाज, समाजसेवी, पत्रकार, शिक्षक, उद्योगी व्यापारी, स्थानीय संघ संस्था, युवा क्लबलगायत सम्पूर्ण धनुषाबासीलाई सहभागि हुन अपील गरिएको छ ।

तस्विर : फाइल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.