
राजविराज, ८ पुस । संघीय समावेशी मधेशी गठबन्धनका नेता जयप्रकाश गुप्ताले अहिले सरकारले अनुमोदन गरेको संविधान संशोधन विधेयक नयाँ बोतलमा पुरानै रक्सी जस्तै रहेको दाबी गरेका छन् । उनले यदि भारत सरकारले संविधान संशोधनको प्रकृयाको स्वागत गरेको हो भने जबसम्म संविधान संशोधन गरिनु पर्ने बुंदाहरूमा सहमति हुदैन त्यतिन्जेल प्रकृया मात्रले समस्याको समाधान भएको मान्न नसकिने कुरा पनि भारत सरकारले बुझ्नु पर्नेमा जेपीले जोड दिए ।
सप्तरीको राजविराजमा संयुक्त लोकतान्त्रिक मधेशीा मोर्चा सप्तरी र गठबन्धनले संयुक्तरुपमा आयोजन गरेको सभामा के कुनै मोर्चा र कुनै नेता थाक्दैमा, व्यक्ति निराश हुदैमा कुनै आन्दोलनका मांगहरू यत्तिकै पुरा भएको भन्न मिल्छ र ? सोद्धै तमरा नेता जेपी आनन्दले भनेस् “यदि नेता थकित भएका छन् वा लडाई लड्न नसक्ने हो भने घरमा वा सरकारी आरामगृहमा विश्राम गरे हुन्छ । हामीले नसके भावी पुस्तामा आन्दोलन हस्तान्तरण गरे हुन्छ । आन्दोलनलाई परिणामहीन रूपमा समाप्त गर्न पाउदैन ।“
सोही सभामा राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले बिना शर्त मोर्चासँग सहकार्य गर्न तयार रहेको बताए । उनले मधेशका सम्पुर्ण मधेशवादी दलहरुबिच कार्यगत एकता गर्न आफुहरुको गठबन्धन तयार रहेको बताउँदै एक ठाउँमा जुन दिन भेला भए त्यही दिन मधेशको माग सम्बोधन हुने दाबी समेत गरे । भण्डारीले वर्तमान सरकारले विभेद समाप्त नगरे मुलुकमा विद्रोह हुने चेतावनी दिदै विभदेकै कारण विद्रोह हुन सक्ने र मुलुक बिखण्डनमा समेत जान सक्ने भएकोले त्यस समयमा सो को जिम्मेवारी राज्यले नै लिनुपर्नेमा जोड दिए ।
सोही बिरोध सभालाई सम्बोधन गर्दै नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले मधेसीले लडिरहेको यो लडाईमा मधेसीले राज्यमा आफ्नो अंश खोज्न र मधेसमा मधेसीको वंशको रक्षाका लागि रहेको बताए । सभामा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेशी जनताले गुमेको ऐतिहासिक सभ्यता हासिल गर्न यो आन्दोलन शुरु गरेको बताउँदै जबसम्म निर्णायक परिणाम आउँदैन तबसम्म आन्दोलन जारी रहने उदघोष समेत गरे ।
मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, नेकपा माओवादी केन्द्रिय सदस्य महेश यादव, सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, प्रवक्ता बलारम यादव, मधेशी मोर्चाका सचिवालय सदस्य सत्य नारायण यादव, मोर्चाका नगर संयोजक उमेश साह, आन्दोलनमा घाईते भएका रामगमन साह लगायतका बक्ताहरुले मधेशको माग अविलम्व सम्बोधन नभए देशमा सम्प्रदायिक रुप लिन सकिने तथा त्यसको जिम्मेवार सरकारलाई लिनुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलद्वारा संचालित सो बिरोध सभामा मधेशी मोर्चा निकट आवद्ध विभिन्न पार्टीका केन्द्रिय सदस्यदेखि लिएर जिल्ला अध्यक्ष सम्मको उपस्थिति रहेको थियो ।





