
हुलाकी न्यूज, धनगढी ८ पुस । टिकापुर घटना पछि कैलालीका थारुहरुले पहिलो पटक विशाल विरोध सभा गरेका छन् । धनगढीमा भएको सभामा थारु अगुवाहरुले अव वार कि पारको लडाई हुने चेतावनी दिदै आन्दोलन सशक्त बनाउने घोषणा गरे ।
सभामा बोल्ने अधिकांश वक्ताहरुले संघीयतामा थारु–मधेशीहरुलाई अधिकार नदिइए आन्दोलनको माग परिवर्तन हुन सक्ने चेतावनीसमेत दिए ।
थरुहट र थारुवान, राना थारु र कठरिया थारु संयुक्त संघर्ष समिति कैलालीद्वारा मंगलवार उक्त सभा आयोजना गरिएको थियो ।
थरुहट नेता अमृत खाँले तीन दलले मेरो गोरुको बाह्रै टक्का भने जस्तै गरेर विभेदकारी संविधान ल्याएको बताउँदै उनले थरुहट माग पूरा गराउनका लागि ज्यानकै बाजी लगाएर अगाडि बढ्न आवश्यक रहेको बताए ।
सांसद गौरी शंकर थारुले नयाँ संविधान जारी भए पनि सात प्रदेशको सीमांकन प्रति एमाओवादी पार्टीको असहमति रहेको बताए।
थरुहट र थारुवान केन्द्रिय आन्दोलन परिचालन समितिका मिनराज चौधरीले संविधान जनविरोधी रहेको भन्दै त्यसको विरोधमा संघर्ष समितिले आन्दोलनलाई निर्णायक तहमा र्पुयाउने बताए । उनले संघीयता र पहिचानवादी सबै पक्षधर मिलेरै निर्णायक आन्दोलन गर्न जरुरी रहेको औंल्याए ।
राना थारु संयुक्त संघर्ष समितिका कैलाली संयोजक मालामति रानाले थरुहट पक्षधरले विगत चार महिनादेखि आन्दोलन गर्दै आए पनि सरकारले सुनुवाइ नगरेको बताइन्। उनले कैलाली, कञ्चनपुर मधेशका जिल्लासँग मिलाएर प्रदेश बनाउनु पर्ने जोड दिइन् ।
थरुहटरथारुवान केन्द्रिय आन्दोलन परिचालन समितिका सदस्य रमेश कुमार चौधरीले थरुहटको राजनीतिक माग सरकारले सम्वोधन गर्नु पर्नेमा जोड दिए । उनले थारुहरु अहिलेसम्म सहेर बसेका कारण राज्यले विभेद गर्दै आएको भन्दै अब राज्यको विभेद कुनै पनि हालतमा नसहने बताए ।
थारु युवा स्वयम सेवकका केन्द्रिय संयोजक महावीर चौधरीले टीकापुर घटनामा थरुहट नेताहरुलाई पक्राउ गरेको सरकारले थारुहरुको घरमा आगो लगाउनेहरुलाई जोगाइ रहेको आरोप लगाए । उनले यो सरकार थारु जातिको पक्षमा नरहेका कारण अब राजधानीमा युवा शक्ति प्रदर्शन गर्ने बेला आएको बताए ।
थारुहरुलाई राजनीतिक र सांस्कृतिक अधिकारबाट बञ्चित गरेकै कारण टीकापुर घटना भएको तर, त्यो घटनाले थारु आन्दोलनलाई अन्तर्रा्ष्ट्रियकरण गर्न सहयोग समेत पुगेको बताए ।
गत साउन ३० गते धनगढीकै क्याम्पस चौकमा विरोध सभा गर्दा अत्यधिक मानिसको सहभागिता भएको थियो । टीकापुर घटनापछि सोही ठाउँमा पहिलो पटक गरिएको यस पटकको विरोध सभामा पहिलेको जस्तो मानिसको उपस्थिति देखिएको थिएन । विरोध सभामा सहभागी हुन आउनेहरुलाई सुरक्षाकर्मीले चेकजाँच गरेर मात्रै सभामा आउन दिएका थिए ।




