हुलाकी न्यूज, काठमाडौं, २० भदौ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले समानता र नैसर्गिक अधिकारसँग कुनै सम्झौता हुन नसक्ने बताएका छन् । अध्यक्ष ठाकुरले पहिले आफ्नो माटो, पहिचान र संस्कृतिको सम्मानपूर्ण अस्तित्व जरुरी रहेको र त्यसपछि मात्र विचार तथा सिद्धान्तको राजनीति हुन सक्ने बताएका छन् ।

संविधानको अन्तिम स्वरुप तय भएसँगै आईतबार जनकपुरमा पत्रकार सम्मेलनमार्फत तमलोपा अध्यक्ष ठाकुरले नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले केही महिना यता गरेको राजनीतिक अभ्यासले वर्तमान ‘राज्य’ र यसका संयन्त्रहरु एउटा समुदायप्रति मात्र समर्पित रहेको प्रष्ट भएको बताएका हुन् ।

सरकारले रंगभेदी र विभेदकारीकारी नीति अवम्लवन गरेकाले मुुलुक विखण्डनको दिशातिर गएको टिप्पणी गर्दै उनले अब वार्ता हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे ।

अध्यक्ष ठाकुरले राज्यले जनताको शान्तिपूर्ण आग्रह र बिद्रोहलाई संवैधानिक व्यवस्था विपरित सेना लगायत सुरक्षाका सबै निकायहरुको दुरुपयोग गरी बर्बर दमन गरेको र सहिदहरुको आलो रगतको अपमान गरेको आरोप लगाएका छन् ।

उनले सम्पूर्ण नेपाली जनताको अपनत्व हुने संविधान निर्माणको सट्टा एउटा समुदायको वर्चस्वको निरन्तरताका लागि देशलाई गृहयुद्धको भुमरीमा धकेल्ने तैयारी भइरहेको समेत आरोप लगाए ।

ठाकुरले संविधानसभाका सबै प्रक्रियाहरु अविलम्व रोकेर दमन बन्द गरी सुरक्षा बलहरुलाई ब्यारेक पठाउन, आन्दोलनका क्रममा मृत्यु भएका आन्दोलनकारीलाई सहिद घोषणा गर्न, पीडित परिवारलाई क्षतिपूर्त दिन, भएका सम्झौता तथा नेपालको अन्तरिम संविधानको संवैधानिक ग्यारेन्टी अनुसार तराई–मधेशको भूमि समेटेर थरुहट–मधेश प्रदेशको स्थापना गर्न माग गरेका छन् ।

राज्यले निरकुंश शैली बन्द गर्दै आन्दोलनरत पक्षको मागहरु सम्बोधन नगरे कडा र अन्तिम संघर्ष गर्ने तथा त्यो संघर्ष निर्णायक र अप्रिय एवं विकट हुनसक्ने चेतावनी पनि दिएका छन् ।

उनले सबै भिन्नताको परित्याग गरी स्वायत्त थरुहट–मधेशको ब्यानर मुनि समस्त थारु–मधेशी, आदिवासी–जनजाति, दलित, मुस्लिम लगायत सिमान्तकृत समुदायलाई एक भई वर्चस्ववादी राज्य संयन्त्रको विरुद्ध लड्न आह्वान पनि गरेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.