Mahottre
रंजन भण्डारी, जलेश्वर ७ पुस । राष्ट्रिय मानव अधिकार आयोगको टोली समक्ष महोत्तरीबासीले आन्दोलनको निहुँमा सुरक्षाकर्मीबाट सवसाधारणको हत्या भएको बताएका छन् ।

आयोगको अनुगमन टोलीले महोत्तरीका पत्रकार र मानवअधिकारकर्मी, नागरिक समाज, युवा र राजनीतिक दलहरुसँग भेटघाट गर्ने क्रममा उनीहरुले सुरक्षाकर्मीको व्यवहार र कामको बारे अवगत गराएको हो ।

नेपाल पत्रकार महासंघ महोत्तरीको सभाकक्षमा सम्पन्न छलफलमा पनि कार्यक्रममा वक्ताहरुले मधेश आन्दोलनमा प्रहरीले देखाएको अमानविय आचरण र मानवअधिकारको घोर उल्लंघन बारे आयोगलाई अवगत गराएका थिए ।

छलफलमा नेपाल बार एशोसिएशन महोत्तरीका अध्यक्ष विजय ठाकुरले मधेशमा मानवीय संकट भइरहेको समयमा अधिकारको वकालत गर्नु नाजायज रहेको बताउँदै आन्दोलनको नाममा सुरक्षाकर्मीबाट हत्या गरिएको बताए । उनले भने, ‘आयोग सक्षम छ भने यस्तो कार्यमा संलग्नहरुलाई फौजदारी मुद्दामा कारबाही गरेर देखाउनु पर्छ ।’

सोहि क्रममा  महोत्तरीस्थित मानवअधिकार संरक्षण केन्द्रका अध्यक्ष मदनकुमार झा, मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष राजकिशोर झा, प्रेस स्वतन्त्रता सेनानी कुँवरकान्त झा, थर्ड एलायन्सका नागेन्द्रकुमार कर्ण, सविता झा, पत्रकारहरु दशरथ भण्डारी, राकेशप्रसाद चौधरी, रञ्जन भण्डारी, युवाहरु सुरेश ठाकुर, सत्येन्द्र यादव, विजय राय, रंजितराज मधेशी, नागेन्द्र दुबे, सुदिप झा लगायतकाहरुले मधेशमा भइरहेको अधिकारको आन्दोलन र आयोगले गर्नुपर्ने कामहरुको बारेमा मन्तव्य राखेका थिए ।

सो वारे आफ्नो धारना राख्दै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले चाँडै नै नेपालमा राजनीतिक सहमति भई देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

आयोगले आफ्नो काम ईमान्दारीपूर्वक गरिरहेको बताउँदै आयोगका सदस्य पाठकले सरकारलाई जिम्मेबार बनाउन आयोगको सदस्यकै नेतृत्वमा टोली अनुगमनमा खटिएको बताए । उनले भने, ‘हामी निरन्तर रुपमा काम गरिरहेका छौ, अनुगमनमा छौं र सरकारलाई कारवाहीको लागि रिपोर्टहरु पनि दिइरहेका छौं ।’

सरकारलाई कारवाहीको लागि गरेको रिपोर्टहरु कार्यान्वयन नहुने गरेको विषयमा सहभागीहरुले राखेको जिज्ञासामा आयोगका सदस्य पाठकले भने, ‘ तपाईहरु ढुक्क भए हुन्छ, आयोगले कारवाहीका लागि गरेको सिफारिसहरु खेर जाँदैन ।’ जति समय लागेपनि सरकारले आयोगको रिपोर्टलाई कार्यान्वयन गर्नेमा आफू ढुक्क रहेको उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.