Inian-Stetment-on-nepal

हुलाकी न्यूज, काठमाडौं ७ पुस । सरकारले संविधान संशोधन सम्बन्धी निर्णय गर्दैमा वा भारतले स्वागत गर्दैमा मधेश–थरुहटमा जारी आन्दोलन नरोकिने मधेशी मोर्चाका नेताहरुले बताएका छन् ।

मंगलबार विहान हुलाकी न्यूजसँग कुराकानी गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले भारतले स्वागत गर्नु र नगर्नु उसको आन्तरिक मामिला भएको भन्दै मधेशको माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताए ।

संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा.शिवजी यादवले हुलाकी न्यूजसँगको कुराकानीमा भने,‘यो कुटनीति हो । नेपाल सरकारले बारम्बार स्वागत गर्न आग्रह गरेपछि यस्तो विज्ञप्ति आएको हुन सक्छ । यो भारत–नेपालको मामिला हो । यसले मधेशमा जारी आन्दोलनमा कुनै फरक पर्ने छैन । आन्दोलन निरन्तर चल्नेछ ।’

सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहताले हुलाकी न्यूजसँगको कुराकानीमा भने,‘मोर्चाले आन्दोलन सशक्त बनाउँदैछ । भारतले सरकारी संशोधनको स्वागत गरेको हो, त्यो भारतको सरोकारको विषय हो । त्यो विज्ञप्तिले आन्दोलनलाई कुनै असर गर्ने छैन । सरकारले संशोधनका लागि निर्णय गर्छ र अर्कोतिर प्रधानमन्त्री केपी ओली इटहरीमा गएर सिमांकन एक इन्च पनि हेरफेर नहुने भाषण दिन्छ । त्यसैले सरकारी संशोधनको कुरा हामीलाई कुनै पनि हालतमा मान्य छैन ।’

त्यस्तै तराई–मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले हुलाकी न्यूजसँगको कुराकानीमा भने,‘हामी हाम्रो मागमा अडिगछौं । भारतले भन्दैमा आन्दोलन रोकिन्छ वा मथर हुन्छ भन्ने कुरा हाँस्यापद हो । जबसम्म मधेशको माग पुरा हुँदैन आन्दोलन थप सशक्त हँदै जानेछ ।’

सोमबार भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल सरकारले संविधान संशोधन सम्बन्धी गरेको निर्णयको स्वागत गरिएको छ । र, केही दिनमा समस्या समाधान हुने विश्वास व्यक्त गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.