वीरगंज, ६ पुस । पूर्वघोषित कार्यक्रमअन्र्तगत बन्द बिद्यालयका शुल्क तिर्ने बिषयमा संघीय समावेशी मधेशी गठबन्धन पर्साले आज वीरगंजको नारायणी रंगशालामा अभिभावक भेला सम्पन्न गरेको छ । गठबन्धन पर्साका संयोजक सरीफ अहम्दको अध्यक्षतामा सम्पन्न भेलामा सहभागि अभिभावकहरुले मधेश बन्दको क्रममा मधेशवासीको जनजीवन पूर्णरुपले प्रभावित भइसकेको यथार्थ कसैबाट नछिपेको चर्चा गर्दै यस्तो घडीमा विद्यालय संचालन नै नगरी पर्साका निजी बिद्यालयहरुले अभिभावकसँग तीन महिनाको शुल्क माग्नु नैतिक अपराध भएको तर्क राखेका थिए ।
आन्दोलनको क्रममा बन्द बिद्यालयका अवधि भरीको शुल्क नलिन बिद्यालय संचालकहरुसँग गठबन्धनले पटक पटक आग्रह गर्दा पनि गठबन्धनको आग्रहलाई वेवास्ता गर्दै प्याब्सन र एन पयाब्सन वीरगंजले अभिभावकहरुलाई शुल्क तिर्न पठाएको बिल प्रति आजको भेलामा भएको बृहत छलफल पश्चात कुनै पनि हालतमा बन्द अवधिको शुल्क नतिर्ने सहमती भएको जनाइएको छ । भेलामा गठबन्धनका नेताहरु शिव पटेल, राजेशमान सिंह, किशोरी यादव, महम्द कदम रसुल, कृष्णा पटेल, ईशवर यादव, पूर्वमन्त्री करिमा वेगम, चेतनशील अभिभावक संघका द्विवेन्द्र तिवारी लगायत अभिभावकहरुले आ आफनो बिचार व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण उमेशलाल सहनीले गरेका थिए ।



