
हुलाकी न्यूज, काठमाडौं ६ पुस । नेपाली सञ्चार माध्यमहरुमा राष्ट्रपति विद्या भण्डारी जनकपुरबाट फर्किएपछि विवाद विषयहरुले निकै स्थान पाएको अवस्थामा मधेशी नेताहरुले पनि प्रतिक्रिया जनाउन थालेका छन् । तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र प्रसाद यादवले विरोधका बाबजुद राष्ट्रपति भण्डारी जनकपुरधाम जानु गलत भएको बताएका छन् ।
यादवले राष्ट्रपतिलाई त्यस्तो अवस्थामा पनि जनकपुरधाम पठाउनमा षड्यन्त्र रहेको पनि दाबी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यादवले राष्ट्रपतिलाई जनकपुर पठाएर राज्य पक्षले विवाद गर्न खोजेको आरोपसमेत लगाए ।
जारी आन्दोलनका विषयमा यादवले मधेशको समस्या प्याकेजमै समाधान हुनु पर्ने भन्दै तीन महिनाभित्र सीमांकन गर्ने कुरा कुनै पनि हालतमा मान्य नहुने बताए ।
अध्यक्ष यादवले अघिल्लो सरकारले गरेको घाईतेको निशुल्क उपचार, मृतक परिवारलाई क्षतिपूर्ति र झुठा मुद्दा खारेज गर्नेलगायतका निर्णय अहिलेसम्म कार्यान्वयन हुन नसकेको अवस्थामा अहिलेको सरकारको निर्णयलाई विश्वास गर्न नसकिने भन्दै आफूहरुको सरोकार सरकारको चार बुँदेभन्दा ११ बुँदेमा भएको स्पष्ट पारे ।
सोमबार विहान भारतीय राजदुतसँगको भेटवार्ताको प्रसंगमा उनले एउटा छिमेकीको समस्यामा अर्को छिमेकीको चासो स्वभाविक भएको भन्दै भारतीय राजदुतले मन्त्री परिषदको निर्णयको विषयमा धारणा मागेको र आफूहरुले त्यसबाट समस्या समाधान हुँदैन भनेर भनेको जानकारी दिए ।
अध्यक्ष यादवले भने,‘भारतको हामीलाई कुनै दवाव छैन । उहाँहरु पनि समाधान छिटो होस भन्ने चाहनु हुन्छ । उहाँले सरकारसँग पनि आफूले यो विषयमा कुराकानी गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । परराष्ट्रमन्त्रीसँग कुरा गरिपनि सक्नु भएको छ ।’



