सिरहा, ४ पुस । शितलहरबाट बच्नका लागि पूर्वतयारी स्वरुप कम्बल बितरण गरिने भएको छ । जिल्ला दैबी प्रकोप उद्धार समिति सिरहाले गरीब र असहायहरुलाई कम्बल वितरण गर्न लागेको हो । उद्धार समितिको शुक्रबार बसेको बैठकले शितलहरबाट बच्न गरिब, विपन्न समुदायको वस्ती छनौट गरी एक हप्ताभित्र जिविसमा सिफारिस पठाउने र सोही आधारमा कम्बल बितरण गर्ने निर्णय गरेको हो ।
समितिले रेडक्रस सोसाइटीबाट ५०० थान र लहान नगरपालिकाबाट रु दुई लाख, अन्य पाँच नगरपालिकाबाट रु एक÷एक लाखको र जिविसबाट रु तीन लाख बराबरको कम्बल खरिद गरी बितरण गर्ने निर्णय गरेको जनाएको छ । शितलहर र बाक्लो हुस्सुका कारण राजमार्ग क्षेत्रमा दुर्घटना हुन सक्ने भएकाले सर्तकर्ता अपनाउने निर्णय समेत गरिएको छ ।



