दाङ, ४ पुस । दाङको लमहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बन्ने भएको छ । लामो समयदेखि रोकिएको मैदानको निर्माण कार्य पुन: अघि बढेपछि लमहीमा अन्तर्राष्ट्रिय स्तरकै रंगशाला बन्न लागेको हो ।

निर्माणाधीन अवस्थामा रहेको मैदानका लागि लमही नगर विकास समिति र नेपाल सरकारले थप बजेट विनियोजन गर्ने भएको छ । ०५७/०५८ मा खेलमैदान मात्र बनाउने योजनाका साथ नगर विकास समितिले जग्गा छुट्याएको थियो । क्रिकेटको क्रेज बढ्दै जान थालेपछि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने योजनाका साथ अगाडि बढेको नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले नयाँ पत्रिकालाई जानकारी दिएका छन् ।

‘अहिलेसम्म मैदान निर्माणका लागि ७० लाख खर्च भइसकेको छ,’ अध्यक्ष सुवेदीले भने, ‘बजेट अभावमा निर्माण रोकिएको थियो अब त्यो समस्या छैन ।’ जिल्लामा क्रियाशील राजनीतिक दल, खेलाडी, बुद्धिजीवी, व्यापारीहरू सहयोग गर्न तयार रहेको उनले बताए । ‘रंगशाला निर्माणका लागि सबै क्षेत्रबाट सहयोग आइरहेको छ,’ उनले भने, ‘सरकार र नगर विकास समितिले बजेट विनियोजन गरिसकेको छ ।’

शनिबारको नयाँ पत्रिकामा समाचार छ – हालको बजेटले निर्माण कार्य सम्पन्न गर्न नसकिने उनको भनाइ छ । उनका अनुसार विकास समितिले ८० लाख र खेलकुद मन्त्रालयबाट २० लाख रुपैयाँ विनियोजन भएको छ । पूर्व–पश्चिम राजमार्गनजिकै रहेको मैदान पूर्ण रूपमा निर्माण हुन सके जिल्लामै क्रिकेट खेल अगाडि बढ्ने उनले बताए ।

‘रंगशाला निर्माण भएपछि यहाँ क्रिकेटमयी वातावरण हुनेछ,’ समितिका कोषाध्यक्ष एवं क्रिकेट खेलाडी कैलाश रोकाले भने, ‘राजमार्गछेउमा जग्गा पाउन गाह्रो छ तर हामी राजमार्गकै छेउमा रंगशला बनाइरहेका छौँ ।’ दाङबाट प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत क्रिकेट खेलाडी छनोट हुने गरेको रोकाको भनाइ छ । मैदानको अभावमा पनि खेलाडीले राम्रो विकास गरिरहेको उनले बताए ।

‘यस्तो अवस्थामा पनि खेलाडीले राम्रो खेलिरहेका छन्, अन्तर्राष्ट्रिय स्तरको रंगशाला हुँदा यस क्षेत्रबाट थप उत्कृष्ट खेलाडी उत्पादन हुनेमा विश्वस्त छु,’ रोकाले भने, ‘यसले जिल्ला र देशलाई नै फाइदा हुनेछ ।’ सरकारी निकाय र सम्बन्धित संघले खासै ध्यान नदिँदा मैदानले पूर्णाकार पाउन नसकेको उनको भनाइ छ । ‘लाखौँ लगानी भइसकेको र हाल बजार र सडकको नजिकमा पर्ने यति ठूलो चौर पाउन गाह्रो अवस्थामा यसलाई जसरी भए पनि निर्माण सम्पन्न गर्ने सोच छ,’ उनले भने ।

हालको बजेटमै मैदानलाई पूर्णता दिन नगर विकास समितिको योजना रहेको छ । ‘हाल स्थानीय स्तरका खेल सञ्चालन गर्न सक्ने मैदान तयार गरेका छौँ,’ अध्यक्ष सुवेदीले भने, ‘बिस्तारै बजेट खोज्दै अन्तर्राष्ट्रिय स्तरको बनाउँछौँ ।’ क्रिकेट मैदानको दिगो भौतिक पूर्वाधार विस्तारका लागि विस्तृत गुरुयोजनासमेत बनाउन थालिएको छ । मैदानको डिजाइन डाइमेन्सन इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको छ ।

मैदान निर्माण गर्न क्यानलाई स्वामित्व हस्तान्तरण गर्न समिति तयार भए पनि अन्तिममा आएर क्यानले बेवास्ता गरेको नगर विकास समितिको आरोप छ । क्रिकेट मैदानका लागि १५ मिटरको प्याराफिटसहित ९५ मिटर घेराइको मैदान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.