हुलाकी न्यूज, बीरगञ्ज ४ पुस । जारी मधेश आन्दोलनमा नाका अवरोधको केन्द्र बनेको बीरगञ्ज पुनः तातेको छ ।
शुक्रबार पनि विहानैदेखि विभिन्न स्थानमा प्रदर्शन हुनुका साथै शनिबार पनि विभिन्न प्रदर्शनका कार्यक्रम हुँदैछ ।
हाल बीरगञ्जमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनसहित विभिन्न संघ–संस्थाहरु सक्रिय रहेका छन् ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नाकामा त्यही धर्ना बसेका छन् भने स्थानीय नेताहरु फोरम नेपालका प्रदिप यादव पनि आन्दोलनलाई नेतृत्व गर्दै आएका छन् ।
यता संघीय समावेशी मधेशी गठबन्धनका शिव पटेलसहितका नेताहरु निकै सक्रिय भएका छन् ।
बीरगञ्जमा मुस्लिम गठबन्धन र मुस्लिम विकास मञ्चसहितका संस्थाहरु पनि सक्रियताका साथ आन्दोलनमा लागेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पुस ३ गतेदेखि आन्दोलनलाई जारी राख्ने र आन्दोलन थप चर्काउने निर्णय गरे पछि उनीहरूले शुक्रबार बिहानदेखि वीरगन्जका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
वीरगन्जको नगवा, विर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।
प्रदर्शनकारीले मोटरसाइकल, रिक्सा र ट्र्याक्टरसमेत चल्न दिएका छैनन् ।
बन्दका समयमा कुनै अप्रिय घटना हुन नदिन अहिले वीरगन्जमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशव धिमिरेले बताएका छन् ।



