रबिन्द्र प्रताप गुप्ता, रुपन्देही २९ मंसिर । डा.बाबुराम भट्टराई एमाओवादी परित्याग गरेलगतै मधेशका विभिन्न सहरका व्यापारीहरुलाई स्वयम् टेलिफोन गरी नयाँ शक्ति निर्माणमा जुट्न आग्रह गरे ।
अहिले पनि भट्टराई मधेशका जिल्लाहरुमा कार्यक्रम गर्दा अधिकांश समय त्यहाँका व्यापारी तथा बुद्धिजिविमा खर्चिने गरेका छन् ।
सोमबार रुपन्देहीमा पनि त्यस्तै भएको छ । नयाँ शक्तिका संयोजक डा.भट्टराईले भाषण मञ्चबाट पनि व्यापारी वर्गलाई नयाँ शक्तिमा जोडिन आग्रह गरे ।
भट्टराईले भने,‘सम्पूर्ण उद्योगी व्यापारीलगायतका जनसमुदायलाई नयाँ शक्तिमा जोडिन आग्रह गर्दछु । तपाईहरुबाटै नयाँ शक्तिको प्रयोग होस् भन्ने चहान्छु ।’
भट्टराईले आफ्नो फेसबुकमार्फत पनि व्यापारीहरु नयाँ शक्तिमा जोडिदै गएको दाबी गरेका छन् । उनले भैरहवाका व्यापारीहरुसँग छलफल गरेको तस्बिर पनि सार्वजनिक गरेका छन् ।
अर्को कार्यक्रममा उनले संविधानसभाबाट संविधान जारी गरिसकेपछि एउटा युगको अन्त्य भइसकेको र अबको पालो आर्थिक क्रान्ति भएको बताए । उनले २००७ सालदेखी नै पटकपटक राजनीतिक परिवर्तनलाई पूर्णता दिने कोशिस गर्दा सम्झौतामा टुंङ्गाइएको र सम्झौता गर्ने आन्दोलनरत पक्ष पुरानो शक्तिमा रुपान्तरण भई त्यसले नयाँ परिवर्तनलाई संस्थागत गर्न नसक्दा पुरानै यथास्थितितिर फर्कने काम गरेको बताए ।
हाल नयाँ शक्ति निर्माण अभियानको लागि देश दौडाहामा रहेका डा.बाबुराम भट्टराईले संविधानसभाको संबैधानिक समितीको सभापति थिए ।
मधेशका जिल्लाहरुमा भट्टराईले आफुले आन्दोलनरत मधेशी र थारु जनताको माग संविधानमा समेटी संविधान जारी गर्नुपर्ने आग्रह गरे पनि कसैले पनि आफ्नो हठ नत्यागी संविधान जारी गरेको आरोप लगाउँदै आएका छन् ।




