आदरणीय बालकृष्ण जी,
तपार्ईँको पत्रको जबाफ अधिवक्ता दिपेन्द्र झाले पक्कै पनि दिनु हुनेछ होला । तर, यो पत्रमा मैले तराई मानव अधिकार रक्षक संजालको नाम लेखेको भेटाए, जोसंग म पनि आबद्घ छु ।
तपाँईलाइ मैले टुइटरमा एक्सपोलर गरे, फेसबुुकमा सर्च गरे, केही तर्कपरक कुरा राख्न, तर भेटाइन । तर केही जबाफ म पनि दिउँ भनेर कौतुहल भए र मलाई असजिलो लाग्ने नेपाली भाषालाई माध्यम बनाइ यो जवाफमार्फत केही भन्न रुचाए ।
आजभोलि पत्रपत्रिकामा लेखहरु पढन् खुब रुचाउँछु म । तेस्रो मधेश आन्दोलनको आज एकसय सोह्रौ दिन बिती सक्यो । त्यसमा धेरै घटनाा परिघटनाहरु घटिए । राज्यको तर्फबाट बलको अत्याधिक प्रयोग भएको कुरा राष्ट्रिय मानव अधिकार आयाग, ह्यूमन राइटस वाचडगलगायत बिभिन्न मानव अधिकारसंग सम्बन्धित संस्थाहरुले आ—आफ्ना प्रतिबेदनमार्फत भनिसकेका छन् ।
तर, तपाइँको तर्फबाट मैले त्यस्ता कुनै आलेख भेटाइन । तपाइँको यो पत्र पढेर थाहा पाए, तपाइँ मानव अधिकारको बिद्यार्थी हुनुहुन्छ भनेर । म पनि मानव अधिकारको क्षेत्रमा केही गर्नुपर्छ भनेर प्रेरित व्यक्ति हुँ । यस नाताले भन्न चाहन्छु, मधेशमा भएका हत्याहरुको एउटा अनुुुुसन्धानात्मक प्रतिबेदन तयार पारी सरकारलाई बुझाउनुस, हाम्रो आग्रह ।
बालकृष्णजी, सर्लाहीमा जसरी आयोगको गाडीलाई जलाइयो त्योभन्दा अति निन्दनिय घटनाा अरु केही हुन सक्दैन भने हाम्रो बुझाइछ । हामीले बिज्ञप्ति सार्बजनिक गरेरै त्यसको बिरोध गरेका थियौ । हुन त यो प्रश्न तपाइँले दिपेन्द्र झासंग गर्नु भएको छ । यद्यपी थर्ड एलायन्ससंग मेरो आबद्यता भएको हैसियतले म यो जबाफहरु दिदैछु ।
तपाइँको पत्रमा घाइते भएका मानव अधिकार रक्षकहरुको नाम सुचीमा किरण कर्णको नाम लेख्न छुटाउनु भो । जो की हाम्रो संस्थासंग सम्बन्धित हुनुहुन्छ । उहाँको ढाड र घाँटीको पछिल्लो भागमा चोट लागेको थियो, जसको पीडा अहिलेसम्म छ । बालकष्ण जी, आयोगको गाडी जलाउनेलाइ प्रशासनले पक्कै पनि कानुनी दायरामा ल्याउनेछ भने कुरामा हामी आशाबादी हौँ ।
तपाईले जुन फेहरिस्त दिनु भयो की प्रशासनले गौर घटना दोहरिन नदिन नवलपुरमा बलको प्रयोग गर्यो त्योसँग म असहमत हुन सक्दिन । र साथै बलप्रयोगका पनि केही सिद्घान्तहरु छन् भन्ने कुरा तपाईँलाइ भनेर म तपाइँको योग्यतामा प्रश्न चिन्ह ठड्याउने धृष्तासमेत गर्न सक्दिन ।
म यहाँ कसैमाथि दोषाारोपण गर्न चाहँदिन । तर न भनी चुप कसरी बसु की, गौर घटना दोहरिन नदिन प्रशासनले गरेको बलको प्रयोगबाट मोर्चाका २७ जना कार्यकर्ता घाइते भए । प्रहरीको लठ्ठीको कुटाइबाट मोर्चासंगै आबद्घ भनिने राधिका दाश कैथबनियाको मृत्यु भयो ।
माफ गर्नुहोला म उखान टुक्कामा धेरै कमजोर छुँ । तर सपाट भाषामा भन्दा— चुरेपक्षका एकजना पनि घाइते नहुनुलाई तपाईँ कुन रुपमा लिनुहुन्छ बालकृष्ण जी ?
बालकृष्ण जी तपाँई सर्लाही बासी र म महोत्तरीबासी । यस हिसाबले भौगोलिक सेन्टीमेन्ट तपाइँसंग स्वभाकिरुपमा जुटेको अनुभूत गर्दछु । मलाइ थाहा भएन तपाईँको बसाइ अहिले काठमाण्डौमा छ की तनावमय तराईमा, जहाँ मानव अधिकारको क्षेत्रमा रुची राख्नेहरुको खाँचो छ । म अहिले तराई मै छु । आन्दोलनको बेला बाहिर अनुगमनको लागि जाँदा कयौपटक आंदोलनकारीहरुको आक्रोशको तापबाट घेरिन्छु । उनीहरुको अधिकतम गुनासो मानव अधिकार रक्षकहरुको “नन—भिजिबल” उपस्थिती प्रति हुन्छ ।
बालकृष्णजी नेपालमा मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुको कमी छैन तर बिडम्बना हेर्नुुस, ग्राउन्डमा शून्य उपस्थितिभन्दा सायद मलाई कसैले गलत नभन्ला । अनुरोध तपाइँलाई, कृप्यासंगै मिलेर अनुगमन गरौ । बालकृष्णजी, टिकापुर घटनाको भत्र्सना गर्दै त्यसको छानबिन गर्नुपर्छ भनेर तत्काल भदौ ११ गते हामीले प्रतिबेदन सार्बजनिक गरेका थियौ ।
हाम्रो आधिकारिक जिमेल ग्रुपमा बनाइएको मिडिया ग्रुपमा पनि हालेका थियौ । तर तपाईँलाइ सिसि गर्न सकिन माफ गर्नु होला । बालकृष्णजी, हामीले दिनहु प्रतिबेदन निकाल्ने गरेकाछौ । थमन बिकलाई एम्बुलेन्सबाट थुतेर मारेको घटनाहोस या नाकाबन्दीबाट परेका प्रभाव सबै अबस्थालाइ समेटदै सरकार र आन्दोलनकारी पक्ष दुबैलाई सिफारिस गर्दै आएका छाँै तर तपाईँलाइ सिसि गर्न भ्याइन माफगर्नु होला ।
मङसिर ८ गते बिहान ६ बजेर ५ मिनेटमा जुनबेला सुनसरीको भान्टाबारीमा घटना घट्यो संयोगवस हामी त्यही गाउँमा थियौ, कार्यालय कलिग सिबेन्द्रजी को घरमा । दिनभरीको अनुगमन पश्चात बिहान भइसक्दा नी गहिरो निंद्रामा थिए । मेरो मित्र कबिर कर्णजीले भन्नू भयो, “यार एसएसबी बाला नेपाल मे गोली चला देल कै” – मित्र एसएसबी बालाले नेपालतर्फ गोली चलायो) । आँखा नपुच्छदै ६ः१२ मा घटनास्थलमा पुगे ।
भारतीय एसएसबीले नेपालको भूमिभित्र छिरेर चलाएको गोली लागि चार जना (मनोज यादब, नरेश यादब, असोक यादब र सरोज यादब) घाइतेसंग भेटे । उनीहरुको परिवारजन र स्थानियहरुसंग घटनाको अबस्थाबारे जानकारी लिइ दस्ताबेजीकरण गरे । हामीले सिमाप्रहरी चौकी भन्टाबारीका सईसाहेब झनक अधिकारी र भारतीय पक्षका बिरपुर कमाण्डर रणबीर सिंहसंग कुराकानी गरे । बालकृष्ण जी, खुलापत्र तपाईँलाई अधिवक्ता दिपेन्द्र झाले सायद लेख्नुहुनेछ होला तर उक्त घटनाको प्रतिबेदन तपाइँलाई कुन इमेलमा पठाईदिनु ?
बालकृष्णजी, तपाईँले मधेशको बलीप्रथा, बोक्सी दाइजोजस्ता समस्यालाई कोट्याउनु भएकोमा धन्यबाद । यसमा अधिवक्ता दिपेन्द्र झाबाट खुलापत्रको अपेक्षा गर्नु भएको छ । उहाँले लेख्नु होला । तर यसमा एउटा कुरा भन्न चाहन्छु । चिया, दुध, दाल, रक्सी यी सब मानिसले खाने तरल पदार्थ हो । तर के यी सबैलाई एकैसाथ मिसाएर खान सकिन्छ ? मेरो बिचाारमा पक्कै पनि होइन । म अनुरोध के गर्न चाहन्छु । कुनै कुरा को सही टाइमिङ हुन्छ ।
बेला अहिले संबिधानलाइ कसरी दिर्घायू बनाउने, कमसेकम अन्तरिम संबिधानभन्दा रिग्रेशिब नहोस भन्नेतर्फ केन्द्रीत हुनेछ । मधेशका समस्या हामी नेपालीका साँझा समस्या हुन यसमा पनि हामीसंगै काम गरौला । बालकृष्णजी, बिचमा प्याच्चै बोले मैले । त्यसको लागि म क्षमाप्रार्थी छुँ । थर्डएलायन्सको नाम तपाइँको पत्रमा पढे र यो जबाफ लेख्ने जमर्को गरे । समाजिक संजालमा अझ् तपाइँलाई खोज्दैछु ।
रनधीर चौधरी



