वीरगंज, २९ मंसिर । संघीय समावेसी मधेशी युवा गठबन्धन पर्साका संयोजक सहित पक्राउ परेका तिन जना युवा नेताहरु सोमबार रिहा भएका छन् । मंसिर २१ गते नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा गलत क्रियाकलाप भईरहेको सुचना पाए लगतै युवा मोर्चाका संयोजक ईश्वरचन्द्र यादवको नेतृत्वमा अस्पताल पुगेको टोलीले अस्पताल प्रशासनलाई गलत क्रियाकलाप रोक्न आग्रह गर्दा बिवाद भएपछि प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका मोर्चा संयोजक यादव र युवा नेताद्वय अनिल गुप्ता र निसान्त मिश्रालाई पर्सा जिल्ला अदालतले धरौवटीमा रिहा गरेको थियो । तिनै जना संग २५ सयको दरले धरौवटी लिई तारेखमा रिहा गरेको हो । युवा नेताहरुको तर्फबाट अधिवक्ताहरु सुधिर कर्ण,शैलेन्द्र चौरसिया,सुरेन्द्र कुर्मी र वकिल मियाँले बहस गरेका थिए । रिहाई लगतै युवा नेताहरुलाई बिरगंज नगर परिक्रमा गराई घण्टाघरमा गठबन्धनका नेताहरुले स्वागत गरेका थिए । युवा मोर्चा पर्साका सल्लाहकार ओमप्रकास सर्राफको सभापतित्वमा सम्पन्न सभामा गठबन्धनका नेता शिव पटेलले जारी मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका युवाहरुलाई बधाई दिदै अगामी दिनमा जोस र जाँगरका साथ आन्दोलनमा सरिक हुन आग्रह गरेका थिए ।
आन्दोलन निष्र्कषमा नपुगे सम्म सम्पुर्ण मधेशीहरु एक भएर आन्दोलनमा सहयोग गर्न जोड दिएका थिए ।सभामा बोल्दै गठबन्धनका नेता प्रेमबाबु पटेलले प्रहरी प्रशासनले मधेश आन्दोलनलाई तुहाउन फोहरी खेलमा लागेको बताउदै मधेश विरोधी प्रशासन संग एक ईन्च पनि मधेशीहरु नडराइ आफनो अधिकारको लागि लडिरहने बताए । सभालाई सम्बोधन गर्दै शशिकपुर मियाँले जारी मधेस आन्दोलन उत्कर्षमा पुगेको बेला युवाहरुलाई पक्राउ गरी आन्दोलन तुहाउने काम प्रशासनले गरेका प्रति कडा आपती जनाएका थिए ।




