नवलपरासी, २८ मंसिर । नेपाल पत्रकार महासंघ तराई–मधेश मिडिया सम्मेलन १३ बुँदे अमलटारी घोषणापत्र जारी गर्दै सकिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको आयोजनामा नवलपरासीको अमलटारीमा केन्द्रीय पदाधिकारी, सदस्य, सल्लाहकार र तराई–मधेसका २२ जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागितामा मिडिया सम्मेलन गरेको थियो ।
सम्मेलनले जारी आन्दोलन र सीमा नाकामा भएको अवरोधका कारण उत्पन्न विषम परिस्थितिप्रति गहिरो चिन्ता र सरोकार प्रकट गरेको छ । घोषणा पत्रमा नेपाली जनताको लामो संघर्ष र वलिदानको परिणामस्वरूप संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी हुनु ऐतिहासिक उपलब्धी भएको ठहर गरेको छ ।
के–के छ घोषणा पत्रमा ?
त्यस्तै नयाँ संविधानले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्यायजस्ता परिवर्तनका मूलभूत एजेण्डाहरू संस्थागत गरेको र यी उपलब्धीलाई संस्थागत गर्दै तराई(मधेसमा जाारी आन्दोलन र अन्य असन्तुष्ट पक्षले उठाएका जायज विषयहरूलाई समेटेर संविधान संशोधन गर्नुपर्नेमा समेत जोड दिएको छ ।
लामो समयदेखि जारी मधेस आन्दोलन र सीमा नाकामा भइरहेको अवरोधका कारण आम नागरिकको दैनिक जनजीवन अस्तव्यस्त भएको छ भन्दै देशको अर्थतन्त्र चौपट बनेको र पत्रकारहरू असुरक्षित हुनुपरेको उल्लेख गरिएको छ ।
त्यस्तै आन्दोलनकै कारण पत्रकारिता स्वनियन्त्रणको शिकार बनेको, मिडिया उद्योग धराशायी बन्दै गएको उल्लेख गर्दै मुलुकले थेग्नै नसक्ने यस्तो अवस्थाको चाँडो अन्त्यका लागि गम्भीर बन्न सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
पछिल्लो मधेस आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिबारे तराईका २२ जिल्लाका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षहरु सहित सहभागी भएर जारी गरिएको घोषणा पत्रमा विद्यमान राजनीतिक समस्याको समाधान राजनीतिक तहबाटै खोजिनु पर्ने, आन्तरिक समस्याको समाधान आपसी संवादबाटै निकालिनु पर्नेमा जोड दिइएको छ । आन्दोलनमा बल प्रयोग र हिंसाको विरोध गर्दै कुनै पनि बाहृय हस्तक्षेपप्रति आपत्ती समेत प्रकट गरिएको छ ।
घोषणा पत्रमा मुलुकको यो जटिल स्थितिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, सामाजिक सदभाव र एकताप्रति मिडिया जगत् अझ बढी संवेदनशील हुनुपर्दछ भन्दै जस्तोसुकै संकटको घडीमा पनि रत्तिभर विचलित नभई पत्रकार आचारसंहिताको जिम्मेवारीपूर्वक पालना गर्न र स्वतन्त्र पत्रकारिताको व्यवसायिक धर्म निर्वाह गर्न सम्मेलनले सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमहरूलाई अपील पनि गरेको छ ।
पत्रकार र सञ्चारजगतमाथि लक्षित गरेर भएका आक्रमण, धम्की र अवरोधका घटनाहरूप्रति आपत्ती तथा पत्रकारको भौतिक सुरक्षा, निर्वाध आवागमन र स्वतन्त्र पत्रकारिताको अभ्यासको वातावरण बनाउन आन्दोलनकारी र राज्य पक्षको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
तराई मधेसमा जारी आन्दोलनको संवेदनशीलता बुझ्न सो क्षेत्रको स्थलगत अवलोकन र प्रत्यक्ष संवाद जरूरी रहेको ठहर सम्मेलनले गरेको छ । —अनलाइनखबर



