हुलाकी न्यूज, जलेश्वर २७ मंसिर । संघीय समावेशी मधेशी गठबन्धनले अहिले चर्चामा रहेको विधेयकमार्फत संविधान संशोधनले मधेशमा जारी आन्दोलनको माग पुरा गर्न नसक्ने निस्कर्ष निकालेको छ ।
गठबन्धनका नेताहरुले नेपाली कांग्रेस, एमाले र माओवादीले विधेयकमार्फत संविधान संशोधन गराएपनि त्यसले मधेशी जनताको भावनालाई दिर्घकालिनरुपमा सम्बोधन गर्न नसक्ने बताएका छन् ।
आइतबार महोत्तरीको रामगोपालपुरमा गठबन्धनद्वारा आयोजित विरोध सभामा बोल्दै नेताहरुले एक्ला एक्लै आन्दोलन गरेर निस्कर्षमा पुग्न नसकिनेभन्दै संयुक्त रुपमा आन्दोलनलाई उचाईमा पु¥याउनु पर्नेमा जोड दिए ।
गठबन्धनको बिरोध सभामा बोल्दै तराई–मधेश राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ताले भने, ‘संविधानको प्रस्तावित संशोधनबाट संसदमा मधेशबाट ५/६ सीट बढनेछ । तर, मधेशको जनसंख्या ५१ प्रतिशतको प्रतिनिधित्व हुन सक्दैन । संसदको अर्को सदन राष्ट्रिय सभामा १०/११ जनाभन्दा बढी मधेशी कुनै पनि हालतमा पुग्न सक्दैन । अनि अबको २० बर्षसम्म मधेशको जनसंख्या बढेपनि संसदमा मधेशको सीट नबढने व्यवस्थामा यस संशोधनले कुनै परिवर्तन ल्याउन सक्ने छैन ।’
गुप्ताले मधेशी मोर्चालाई इंगित गर्दै भने, मोर्चाले स्पष्टरूपमा किन मांग राख्न सकेन ? शुरूमा २२ र ८ सूत्रीय पुरा गरे हुन्छ भने, बीचमा ३५ बुंदे मांग राखे, अहिले ११ बुंदे मांग बुझाएका छन् । दिल्लीबाट फर्केपछि जनसंख्यामा आधारित निर्वाचन क्षेत्र, समानुपातिक समावेशीकरण र सीमांकनमा हेरफेर यी ३ बिषय भन्दैछन । के हुन त मुख्य मांग भनी गुप्ताले प्रश्न गरे ।
सभामा राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले मधेश आन्दोलन ३ वटा (क)कलम अर्थात सबै प्रशासनमा भागिदारी, क अर्थात कोषस विकासमा हकदारी र क अर्थात कारतूस भनेको सेना प्रहरीमा समावेशीकरणका लागि भैरहेको बताए ।
भण्डारीले आफु रक्षामंत्री भएको बेला नेपाली सेनामा ३ हजार मधेशी युवालाई भर्ना गराउन चाहेको तर, मधेशी नेताहरू कै असहयोगले पुरा गराउन नसकेको बताए ।
सोही सभामा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेशीले लडी रहेको यो लडाई मधेशीले राज्यमा आफ्नो अंश खोज्न र मधेशमा मधेशीको वंशको रक्षाता लागि लडीरहेको बताए ।
सभामा मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले मधेश आन्दोलनको अवस्था, गठबन्धनको उद्देश्यको वारे जानकारी गराए । यादवले निर्णायक आन्दोलनबाट एक इन्च पनि पनि नहट्ने दृढता व्यक्त गरे ।




