जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकामा चरम बेथिति देखिएको छ । नगरपालिकाका कर्मचारीहरु समयमा कार्यालय नआउने तथा सेवाग्राहीको काममा ढिलासुस्ती गरि लापरबाही गर्ने गरेको पाइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी, लेखापाल सरोज यादव सहित अन्य कर्मचारीहरु समेत समयमा कार्यालयमा नभेटिने गरेको सेवाग्राहीहरुको गुनासो छ ।
नगर प्रमुख दिनेश प्रसाद यादवले समेत सेवाग्राहीहरुको गुनासो सुन्न नचाहेको तथा दबंग शैली नगरपालिका चलाउने गरेको गुनासो पछिल्लो समय बढ्दै गएको छ । नगर प्रमुख यादवले नगरपालिका कार्यालयभित्रै गुण्डा राख्ने गरेको पाइएको छ ।
कामका लागि नगरपालिका पुग्ने गरेको सेवाग्राहीको काम नभएपछि नगर प्रमुख समक्ष गुनासो गर्दा उल्टै गुण्डा लगाएर कुटपीट गर्ने गरेका छन् । केही दिन अगाडी मात्रै जनमत पार्टीका नेता विरेन्द्र यादवलाई नगरपालिका कार्यालय भित्रै कुटपीट गर्दा कानको जाली फुटेको थियो ।
नगर उपप्रमुख सुनिता सिंहले समेत जनताहरुलाई नटेर्ने गरेको गुनासो बढेको छ । यतिसम्म कि उपमेयर सिंहले आफैँ निर्वाचित पार्टी नेपाली काँग्रेसका नेताहरुलाई समेत नटेर्ने गरेको स्वयं काँग्रेसकै नेताहरुले गुनासो गर्ने गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत चौधरी दिउँसो कार्यालयमा नभेटे पनि राति राति मदिरा सेवन गरि आफैँ गाडी कुदाएर नौटंकी गर्ने गरेको प्रमाणहरु यस अघि पनि सार्वजनिक भईसकेको छ ।
अधिकृत चौधरी कुनै पनि कार्यालयमा धेरै समय टिक्न नसक्ने परिचय बनाएका हुन । यसअघि जुन जुन कार्यालयमा गए त्यहाँ-त्यहाँ विवादमा पर्दै आएका हुन ।