अनिल महासेठ
टिकापुर घटनाको बिरोध र निन्दा जति गरेपनि थोरै हुन्छ । सत्यतथ्य बाहिर आउला र आउँदै पनि छ ।
एमाले र एमाओबादी नेताहरुले एकअर्कालाई आरोप प्रत्यारोप गरेका छन् । टिकापुर घटनालाई आधार बनाएर तराई–मधेशमा जारी आन्दोलनमा साम्प्रदायिकता देख्नु ठिक होइन ।
आजसम्म मधेशमा मात्रै २० जनाको मृत्यु भईसकेको छ । के त्यो सही हो त ? आज सामान्य आन्दोलनमा बल प्रयोग गर्दा अपनाउनु पर्ने कुरामा ध्यान दिएको छ त सरकारले ? सबैलाई टाउको र छातीमा गोलि ठोकिएको छ ।
सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्दा लाग्छ, हिजो महाभूकम्प जाँदा मधेशका हामीले गरेको सहयोगलाई नेपालीले गरेको सहयोग ठानियो तर आज हामीले गरेको आन्दोलनलाई साम्प्रदायिक आँखाले हेरिएको छ । यो कतिको जायज हो त साथीहरु ?
हामी यो देशको मधेशी मूलका नेपाली हौं । यो देशप्रति कोहीभन्दा पनि कम माया छैन हामीलाई । देश भूगोलले मात्र बन्दैन । देश यहाँ बस्ने सबै नेपाली मिलेर बन्ने हो ।
हामी मधेशी आफ्नो अधिकार, मान–सम्मानका लागि आन्दोलनमा छौ । समानता, समानुपातिक प्रतिनिधित्वका लागि आन्दोलनमा छौं । यो लडाई शासक र सामन्ती प्रवृतिको बिरुद्ध लड्दै आइरहेको मधेशी र पहाडका दलित, जनजातीको पनि हो । यो लडाई मधेशलाई उपनिवेश बनाउने विरुद्धको अधिकार प्राप्तिको पनि हो । हिजो मधेशीसँग गरेको सम्झौता पालना नगर्ने विरुद्धको लडाई पनि हो ।
यो आन्दोलन कुनै समुदायसँगको आन्दोलन होइन । पहाडिया र मधेशीबीचको आन्दोलन पनि होइन । अधिकारको लडाई हो । हिजो महाभूकम्प जाँदा, मधेशका सबैले मिलेर सहयोग गरेकै हो । मैले आफैले पनि जिउज्यानको परवाह नगरी, पहाड–मधेश नसोचिक सके जति सहयोग गरेकै हो ।
केहिदिन आगाडिको मेरो फेसबुक स्टयाट्मा कमेन्टमा सहिलाई सहि र गलतलाई गलत भन्नु पर्छ भनेर टिकापुर घटनाको बारेमा किन नबोलेको एक जना भण्डारी भाईले भनेका थिए ।
सहि त सहि नै हो, गलत, गलत नै हुन्छ । भाई म आज पनि त्यही अनिल महासेठ हु र रही रहनेछु ।
मित्र निशान्त श्रेष्ठको कमेन्टमा थियो, ‘हामीसंगै पढ्यौं, त्यती बेला त तिमि यस्तो कुरा गरेनौ’ मित्र निशान्त, म अझै पनि यस्तो कुरा गर्दिन । तिमीप्रतिको मेरो धारणा उस्तै छ । केहि फरक छैन साथी । मेरो सानैदेखिको साथीसँगी मधेशी मूलकोभन्दा पहाडी मुलका छन् ।
तेसैले पनि होला, म यो देशको शासकले जवरजस्ती लाद्न खोजेको एक मात्र राष्ट्रिय भाषा अरु कोही नेपालीभन्दा कम जान्दिन । मैले नेपाली बोलेको मात्र सुनेको भरमा, मलाई कसैले मधेशी भन्न सक्दैन । तर हुँ त मधेशी मूल कै नेपाली नी ।
मलाई कतिय मेरा मित्रले भन्छन्, ‘राष्ट्रपति मधेशी, उपराष्ट्रपति मधेशी, मन्त्री त कति कति भयो । तर पनि तिमीहरुलाई के चाहियो अव ?
म भन्छु, ‘यो देश तिमीहरुको मात्र हो र, तिमीहरु चाँही सधै हुने ? र, हामी एक चोटी भयो भन्दैमा सबै मधेशीले अधिकार पायो त ?
.अर्का केहीको तर्क हुन्छ, तिमीहरुको समुदायको मान्छेले मिहिनेत नै गर्दैनन् त्यसैले लोकसेवामा नाम निकाल्न सक्दैन ।
म भन्छु, हाम्रो आफ्नो भाषामा लिइएर हेर न त लोकसेवाको परीक्षा, अनी थाहा हुन्छ कसको नाम निस्किन्छ ।
सरकार भनेको अभिभावक हुन् । जसरी एक जना बाउ र चार जना छोराहरु छन् भने सबैको आ–आफ्नै माग हुन्छ । म मान्छु, सबैको डिमाण्ड पुरा गर्न सकिदैन तर के एउटा छोराले अधिकार माग्दा रुने बितिकै पुरा गरिदिने । तर अर्कोलाई सम्झाउनु त कता हो कता गोली नै ठोक दिने ? के यहि हो त सरकारको कर्तव्य ?
हिजो पहाडमा भूकम्प जाँदा कुनै पनि मधेशीले भनेका छैनन् कि राम्रो भयो, सब पहाडिया मरे । तर आज समाजिक सञ्जालमा हेर्दा लाग्छ, धेरै साथीहरु खुसी हुनुहुन्छ मधेशी मर्दैछ भनेर ।
म मान्छु केही मधेशी छन् मधेशको राजनीतिमा जो देश अलग गर्ने कुरा गर्छन् । तर मेरो विश्वास गर्नुस अहिले पनि मधेशी जनता यही देशमा आफ्नो अधिकारको लागि लड्न चाहन्छन् । तर आज जे भइरहेको छ मधेशमा, यसले स्वतन्त्रता चाहनेलाई बल मिल्छ । तपाईलाई एउटा कोठा भित्र बन्द गरेर यदि सबैले कुट्न थाल्यो र बाहिर निस्किन दिएन भने के गर्नु हुन्छ ?
आज मधेशको हालत त्यस्तै छ । यसरी नै सरकार मधेशमा प्रस्तुत भई रह्यो भने आगामी दिनमा म जस्ता मधेशी युवा, जो मध्यमार्गी छन् उनीहरु अर्को बाटोमा नलाग्ला भन्न सकिन्न । म विदेशबाट फर्केर यहाँ दोस्रो दर्जाको नागरिक बनेर बस्न आएको होइन । एक चोटी सोच्नुस न, यो देशको आधा जानसंख्या भएको मधेशले आउने संविधानमा आफ्नो अपनत्व महसुस गर्न जरुरी छ कि छैन ? म फेरि पनि भन्छु, यो समुदाय–समुदायबीचको लडाई होइन । यो अधिकारको लडाई हो ।
हिजो पहाडलाई दुख पर्दा मधेश रोएको थियो । आज मधेशी मर्दा सहानुभूति पनि नदेखाउने, बिखण्डनकारी देखने । यो लडाईमा समर्थन न सहि, सहिलाई सहि र गलतलाई गलत त भन्देऊ । आधिकार माग्दा देश टुक्राउने कुरा गर्यो, भन्नु गलत हो । हामीलाई यहि देश भित्र अधिकार चाहियको छ । यो देश जतिअरुको छ, त्यती नै हाम्रो पनि हो ।




दाजु,
हजुरको कुरा एउटा सच्चा नेपालीले वेठिक भनेर भन्न सक्दैन । जसले हजुरको कुरालाई गलत भन्छ त्यो वास्तविक नेपाली होइन । हामी आम जनता जो आफ्नो पसिनाको कमाईले आफु र आफ्नो परिवारको जिवन धान्न जिवन भर लागिरहन्छौ वास्तवमा हरेक आन्दोलनले मर्माहत भएका छौं । हिजो पहाडमा आन्दोलन भयो सास्ति खेप्यौं कति दिन एक छाकमै टार्यौं । आन्दोलन सफल भयो रे हामी खुसी भयौं तर के मानेमा भने अब फेरी काम गर्न पाईने भयौं भनेर । आज तराईमा आन्दोलन चर्किएको छ तर हामीलाई आन्दोलन भन्दा पनि ति मिहिनेत गरी खाने बिचरा दाजु भाईहरु कति टोलाएर बसेका होलान् कति भोकभोकै बसेका होलान् पिर लाग्छ । आंखा अगाडी भर्खरै फुल्दै गरेका जिवनहरु कहिल्यै नउठ्ने गरी ढलेको देख्दा मन रुन्छ अत्यास लाग्छ विचरा तिनका परिवार माथी के बितिरहेको होला । हजारौं सपनाहरु क्षण भरमै खरानी बनेका छन् । भरे घर फर्कन्छन् भन्ने आशमा बसेका केटाकेटी, महिला र आमा बुबा आफ्नो एक मात्र सहारा हराएकोमा कति चिच्याए होलान् कति रोए होलान् ? त्यो पिडा हामीले पनि भोगेका छौं त्यो पिडा हामीले पनि महशुस गरेका छौं ।
दाजु हामी नरोएका हैनौ तर आम नेपालीको रोदन कतै सुनिदैन् , सामाजिक संजालमा छद्म नाम राखेर अपमान गर्नेहरु जो छन् तिनिहरु मनुष्य बर्गमा पर्दैनन् ति त केवल विवेक शुन्य चौपाया हुन् जसको जात छैन धर्म छैन ति हुतिहारा हरु केवल सामाजिक द्वेष फैलाउने अमानुषहरु हुन् ।
त्यसैले दाजु हामी हरेक आन्दोलनका पिडक हौं । हरेक आन्दोलनमा हामी रोएका छौं । हरेक नेपालीको प्राण जांदा खेरी हांमी आत्मा चोईटिन्छ। तराईमा एउटा भाई लड्दा त्यसले पहाड रुवाएकै छ रोएको पनि छ।
तसर्थ दाजु मन सानो नपार्नु होला हामी सदैव तपाईको साथमा छौं । हामी एकै परिवारका दाजुभाई हौ नेपाली हौं र सदा सर्वदा रहिरहन्छौ ।
एउटा भाई ।
Reading your article anil sir, I salute u from my bottom of my heart.
ओहो दाइ एक दम मर्मस्पर्सी छ !! श्रद्दान्जली छ सबै मधेशका सपूतहरुलाइ !! मेरो बिचारमा दाइ !! नेपाल नै जोगाउन मुस्किल पर्ला जस्तो देखेर होला नेता हरु हतार हतार गरेका नत्र मधेसीको माग नै खासै धेरै छैन ! मलाई लाग्छ ६४ साल मा जस्तै संशोधन गरेर मिलाउनै पर्छ ! यो देश सबैको …मधेसी बिना को देश म पहाडीलाइ पनि चाहिएको छैन !! जय नेपाल ! जय मधेश !!
Hello, thx for info. See u latter.