हुलाकी न्यूज, नेपालगन्ज, १६ भदौ । नेपालगंजमा बुधबार संयुक्त थरुहट मधेश संघर्ष समिति र लोकतान्त्रिक मुस्लिम मंच नेपालगंजले भव्य जुलुस निकालेको छ ।
लगातार चार दिनदेखि नेपालगंज उपमहानगरपालिकाको नाकाहरु ठप्प पार्दै आएको समितिले बुधबार ठूलो विरोध प्रदर्शन गरेको हो ।
सरकार र चार दललाई शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन बन्द गरी माग सम्बोधन गर्न नेपालगंजमा भव्य विरोध जुलुश प्रदर्शन गरिएको संयुक्त थरुहट मधेश संघर्ष समिति बाँकेले जनाएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संयुक्त थरुहट मधेश सङ्घर्ष समितिका संयोजक पुर्वमन्त्री मोहम्मद इश्तियाक राईले मधेशी, थारु, जनजाति र मुस्लिमलगायत अन्य शोषित पीडित जनताको माग र अधिकार सम्बोधन नहुने गरी चार दलले बनाउन लागेको संविधान कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
सरकारले मधेशमा चालेको दमनको कदम राजतन्त्र भन्दा पनि निन्दनीय भएको बताउँदै संयोजक राईले भने, “गाउँ गाउँमा गएर घुमुवा प्रहरीले आन्दोलनमा नजान सर्वसाधारणलाई धम्की दिनु निन्दनीय हो ।” उनले अगाडि थपे, “हामी शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्छांै । सरकारले नै शान्तिपूर्ण आन्दोलनमा दमन गरी आन्दोलनकारीहरुलाई भड्काउने काम गरिरहेको छ ।”
सरकारले एकतर्फी रुपमा अघि बढाएको संविधान निर्माणको प्रक्रिया स्थगित नगरेसम्म आन्दोलन जारी रहने बताउँदै संघर्ष समितिका प्रवक्ता पशुपतिदयाल मिश्रले भने, “सेना, प्रहरी र सशस्त्र प्रहरी लगाई दमन गरेर बनाइने संविधान कुनै हालतमा हामीलाई स्वीकार्य छैन ।”
त्यस्तै, स्वायत्त मधेश प्रदेशको माग गर्दै मुस्लिम समुदाय पनि सडक आन्दोलनमा उत्रिएका छन् । थारु र मधेशीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै लोकतान्त्रिक मुस्लिम मंच नेपालगंजले संंघीयताको सीमांकनविरुद्ध स्वायत्त मधेश प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएको मंचका अध्यक्ष मुन्नवार अलि हलवाईले बताएका छन् ।
संवैधानिक मुस्लिम आयोगको गठन, संविधानमा मुस्लिमको पहिचान कायम र कैलाली कञ्चनपुर टुक्र्याउन नपाइने लगायतका नारा लगाउँदै मुस्लिम समुदायको जुलुसले नेपालगंज नगर परिक्रमा गरेको छ ।
बुधबार बाँकेको इन्द्रपुरबाट आएको लोकतान्त्रिक मधेशी मोर्चाको जुलुससमेत मुस्लिमको जुलुसमा मिसिएको थियो । जुलुसमा केही मुस्लिम अगुवासहित सदभवाना पार्टी बाँके जिल्ला अध्यक्ष लक्ष्मी नारायण बर्मा, संघीय समाजवादी फोरमका बाँके अध्यक्ष कमरुद्दिन राई, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्यद्धय पशुपति दयाल मिश्र र बिजय गुप्ता, सदभावना पार्टीका केन्द्रीय सदस्य राजेश बर्मा र रामकुमार दिक्षित, सदभवना पार्टीका उपाध्यक्ष रेखा गुप्ता लगायतको सहभागिता रहेको थियो ।
तराईमा लगातार २३ दिनदेखि जारी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले नेपाल भारत सीमानाकाका साथै नेपालगंजका सबै नाकाहरुमा कार्यकर्ता परिचालन गरि नाका ठप्प पार्नुका साथै विरोध कार्यक्रम जारी राखेका छन् ।
दैनिक उपभोग्य सामानको अभाव सिर्जना गरी सरकारलाई दबाब दिने उद्देश्यले सीमानाका ठप्प पार्दै आएको आन्दोलनरत पक्षले बजार पनि पूर्णरुपमा बन्द गराउने रणनीती अपनाएको छ । लगातारको बन्दका कारण सर्वसाधारण, व्यवसाय, उद्योग कलकारखाना र यात्रुहरु समस्यामा परेका छन् ।



