हुलाकी न्यूज, काठमाडौं, १६ भदौ । मधेश केन्द्रित तीन राजनीतिक दलबिच नयाँ मोर्चाबन्दी भएको छ । विजय गच्छदारको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, शरत सिंह भण्डारीको राष्ट्रिय मधेश समाजवादी पार्टी र राजकिशोर यादवको मधेशी जनअधिकार फोरम गणतान्त्रिकबिच मोर्चाबन्दी भएको हो ।
काठमाडौंमा बुधबार एक कार्यक्रमकाबिच मोर्चा गठन भएको औपचारिक जानकारी दिइएको हो । नवगठित मोर्चाको नाम संघीय लोकतान्त्रिक मोर्चा राखिएको छ ।
विगतमा मधेशी दलहरुसँग भएको ८ बुँदे सम्झौता र थारु आन्दोलनपछि भएका सम्झौताको आधारमा संविधान निर्माण हुनुपर्ने मुख्य मागका साथ मोर्चा गठन गरिएको मोर्चाको एक घटक फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए ।
यादवले स्वायत्त मधेश थरुहट प्रदेश, समानुपातिक सहभागिता, जनसंख्याको आधारमा निर्वाचन प्रणाली आदि माग राखेर मोर्चाले अहिलेको संविधानको मस्यौदाको विरोध गर्ने जनाए ।
आफूहरुको इच्छा संविधानसभाबाटै संविधान बनोस भन्ने रहेको बताउँदै उनले संविधानको अन्तिम रुप अहिलेकै जस्तो आए संविधानसभाबाट नाता तोड्ने चेतावनी पनि दिए ।




