हुलाकी न्यूज, काठमाडौं १९ भदौ । नेकपा एमालेका मधेशी नेताहरु अन्तिम समयमा सक्रिय भएका छन् । मधेशका विभिन्न जिल्लामा एमाले पार्टी कार्यालय तोडफोड तथा नेताहरुको घरमा आक्रमण हुन थाले पछि उनीहरु राजधानीमा सक्रिय भएका हुन् ।
शनिबार विहान करिब ३२ जना एमालेका मधेशी सभासद् तथा नेताद्धारा हस्ताक्षरित ज्ञापन पत्र अध्यक्ष केपी ओलीलाई बुझाइएको छ ।
केन्द्रीय सदस्य श्रीप्रसाद साहले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार बालकोटस्थित ओली निवासमा पुगेर १० बुँदे ज्ञापन पत्र बुझाइएको हो ।
साहका अनुसार ज्ञापन पत्रमा मधेशीहरुको मागलाई संसोधनमार्फत राख्न सुझाव दिइएको छ ।
सुझावमा प्रदेश नम्बर दुईमा मकवानपुर, सिन्धुली र उदयपुरलाई मिसाउनसमेत माग गरिएको साहले बताए । संविधानको प्रस्तावनामा मधेश आन्दोलन शब्द थप गर्न पनि सुझाव दिइएको उनले बताए ।
स्थायी समिति सदस्य सत्यनारायण मण्डलको नेतृत्वमा गएको टोलीमा सभासद् सत्रुघन महतोसहित केही गैरमधेशी सभासद्हरु पनि सहभागी थिए ।
घुमाउरो प्रस्ताव
एमालेका मधेशी नेताहरुले दिएको सुझावहरु एमाले पार्टीकै लाईन वरिपरीको रहेको छ । हाल मधेशमा जारी आन्दोलनमा उठेका मागहरुलाई सम्बोधन गर्ने खालका मागहरु समावेश गरिएको छैन ।
एमाले नेताहरुले ओलीलाई बुझाएको ज्ञापन पत्रका विषयमा एमालेको भातृ संगठन लोकतान्त्रिक मधेशी संगठनका एक जना नेताले भने,‘यो फेस सेभ गर्ने तरिका हो । मधेशमा एमाले कार्यालय जलेपछि र सभासद्को घरमा तोडफोड भएपछि अहिले केही नेताहरुले फेस सेभ गर्दैछन् ।
सभासद्हरु मधेशप्रति त्यतिनै इमानदार छन् भने पार्टीको लाईनभन्दा मधेशको हितमा संसोधन प्रस्ताव दिन चुनौती दिन्छु ।’



