हुलाकी न्यूज, काठमाडौं, १५ भदौ । नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सभासदहरुलाई संविधानको परिमार्जित विधेयकमा व्यक्तिगत रुपमा संशोधन प्रस्ताव नराख्न निर्देशन दिएको छ । कांग्रेस र एमालेले पार्टीभित्र आवश्यक छलफलपछि मात्र उपयुक्त संशोधन प्रस्ताव राखिने भन्दै आफुखुसी संशोधन दर्ता नगराउन निर्देशन दिएको छ ।
संविधानको परिमार्जित मस्यौदामा संशोधन प्रस्ताव दर्ता गराउन संविधानसभाले शनिबारसम्मको समयावधि दिएपछि कांग्रेस र एमालेले आफ्ना सभासदहरुलाई पार्टीको निर्णय र एजेन्डा विपरित नजान निर्देशन दिएको हो ।
कांग्रेस र एमालेले संविधानको परिमार्जित मस्यौदामा संशोधन दर्ता गराउन पार्टीको एजेन्डा अनुरुप जाने भएका छन् । उनीहरुले पार्टीभित्र आन्तरिक छलफल मात्र नभई मुख्य दलहरुबिच पनि छलफल गरेर संशोधन योग्य प्रस्ताव मात्र पठाउने तयारी गरेका छन् ।
कांग्रेसले आफ्ना सबै सभासदहरुलाई संसदीय दलको अनुमति लिएर मात्र संशोधन दर्ता गर्न निर्देशन दिएको छ भने सोमबार साँझ बसेको एमाले स्थायी कमिटिको बैठकले पनि आफ्ना सभासदहरुलाई यस्तै निर्देशन दिएको छ ।
हालको मस्यौदा पक्षधर दलहरुकै अधिकांश मधेशी, थारु, आदिवासी र जनजाति सभासदहरु पार्टीको नीति र एजेन्डाको विरोधमा उभिएको बेला कांग्रेस र एमालेले यस्तो निर्णय लिएको हो ।



