हुलाकी न्यूज, जनकपुरधाम १४ भदौ । मधेशवादी दलका सभासद्हरुको राजीनामासहित दुई बुँदे माग राखी आमरण अनसनमा बसेकाहरुप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ ।

आयोगले अनसनकारीहरुको स्वास्थ्य अवस्था विग्रिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै वार्ताको माध्यमबाट माग सम्बोधन गर्न आग्रहसमेत गरेको छ ।

सोमबार आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मधेश अधिकार संघर्ष समितिको संयोजकत्वमा मधेशी मोर्चाका सभासदहरुको राजीनामा र मधेश तथा मधेशी अधिकारको सुनिश्चितताको माग राखी २०७२ भाद्र ८ गतेदेखि जनकपुरको जनकचोकमा आमरण अनसनमा वस्नु भएका समितिका सल्लाहकार वर्ष ३६ का श्री इन्द्र कुमार झा (मधेशानन्द) र २०७२ भाद्र ११ देखि वस्नु भएका धनुषा जिल्ला तुल्सयाहीनिकासपुर गाविस वडा नं. ४ बस्ने बर्ष ४७ का श्री नरेन्द्र मिश्र (विपिन) को स्वास्थ्य अवस्थाबारे आयोगको क्षेत्रीय कार्यालय जनकपुरले जानकारी लिएको छ । आयोगबाट खटिगएको टोलीले अनशनमा बस्नु भएका अनशनकारी र समितिमा आबद्ध व्यक्तिहरु, जनकपुर अञ्चल अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरुलाई भेटी निजहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । अनुगमनबाट प्राप्त तथ्य अनुसार नरेन्द्र मिश्र (विपिन) को २०७२ भाद्र १३ गते स्वास्थ्यमा समस्या आई जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ भर्ना हुनु भएको र निजको स्वास्थ्य अवस्था खतरामुक्त रहेको, तर इन्द्रकुमार झा (मधेशानन्द) को स्वास्थ्य अवस्था दिनप्रतिदिन विग्रिदै गईरहेको पाइएको हुनाले सो प्रति आयोगको ध्यानाकर्षण भएको छ ।’

वार्ताको माध्यमले माग सम्बोधनका लागि आग्रह गर्दै आयोगको विज्ञप्तिमा भनिएको छ,‘ अतः मानव अधिकारको मुल्य, मान्यता अनुसार आफ्ना माग र विचार शान्तिपुर्णढगंले राख्न पाउनु सवैको अधिकार भएकोले उपरोक्त माग राखी आमरण अनशनमा वस्नु भएका अनशनकारीहरुको माग यथाशिघ्र वार्ताको माध्यमबाट सम्बोधन गर्न र अनशनकारीको जीवनरक्षार्थ निजहरुको स्वास्थ्य अवस्थाप्रति गम्भीर रही मानव अधिकारको सम्मान गर्न आयोगको यस कार्यालयले सम्वन्धित सरोकारवालाको ध्यानाकर्षणको लागि आग्रह गर्दछ ।’

तस्बिर : अरमान कुमार ठाकुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.