हुलाकी न्यूज/जलेश्वर । प्रेम प्रसंगलाई लिएर परिवारजनसँग झगडा भएको युवती शव इनारमा फेला गरेको छ । महोत्तरीको सुन्दरपुर गाविसमा सोमबार बिहान शङ्कास्पद अवस्थामा ती किशोरीको शव फेला परेको हो ।
सुन्दरपुर–७ सिंहासनी टोल बस्ने १५ वर्षीया सविता यादवको शव नजिकैको इनारमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
शनिबार दिउँसो ३ बजेदेखि घरबाट हराएकी सविताको शव सोमबार बिहान स्थानीय इनारमा भेटिनुले मृत्यु शङ्कास्पद भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शौरभ राणाले बताएका छन् ।
यादवको प्रेम प्रसङ्गका कारण घर परिवारका सदस्यसँग शनिबार झैझगडा भएको थियो भने सोही दिनदेखि उनी अचानक घरबाट हराएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयले यादवको हत्या वा आत्महत्या हुनसक्नेबारे अनुसन्धान सुरु गरिसकेको छ भने उनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउइएको छ ।



