राजविराज ,२५ कार्तिक ।जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवविरुद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको छ । १६ वर्षअघि रौतहटको गौरमा उपेन्द्र यादवको नेतृत्वमा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरुले माओवादीका २७ कार्यकर्ताहरुको हत्या गरेका थिए ।
त्यो गौर नरसंहारविरुद्ध उपेन्द्रसहित ११३ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । त्यो मुद्दा विचाराधीन रहेकै अवस्थामा उपेन्द्र पटक पटक सांसद बनिसकेका छन् । फेरि अहिले चुनावी दौडमा सप्तरी २ बाट उम्मेदवार बनेका छन् ।
उस्तै प्रकृतिको टीकापुर घटनामा दोषी करार गरिएका रेशम चौधरीले चुनाव लड्न पाएका छैनन् । तर आन्दोलनका नाममा मधेसका सय जना जनताको रगतको होली खेलेर सत्ताको रसस्वादन गर्दै आएका उपेन्द्र निर्वाध रुपमा चुनाव लडिरहेका छन् ।
यसपालि सप्तरी २ का मतदाताले हत्यारा र मधेसी जनताको बलिदानीको अवमूल्यन गर्ने उपेन्द्रलाई मत नदिने मनस्थिति बनाएका छन् ।
अर्कोतिर आन्दोलनका नाममा मधेसी युवालाई मृत्युवरण गर्न लगाएर आफ्नो सत्ता र स्वार्थका लागि उपयोग गरेपछि रुष्ट मधेसी जनता हत्या अभियोग खेपिरहेका उपेन्द्रलाई मत नदिने निष्कर्षमा पुगेका हुन् ।
राजविराजका एक युवा दिनेश यादव भन्छन्, ‘उपेन्द्रले आजसम्म मधेसलाई ठग्ने, मधेसको नाम भजाएर सत्ताको रजाइँ गरे । मधेसी युवाहरुलाई भिडाएर फाइदा लिए । त्यसको सजाय उनले पाउनुपर्छ । गौर काण्डमा उनलाई सजायै हुनैपर्छ । हामी कुनै हालतमा मत दिँदैनौं ।’ -नेपालपाना