काठमाडौं- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भदौ ७ मा झापा, विर्तामोडको सभालाई सम्बोधन गरे। लगत्तै काँकडभिट्टा हान्निए। सीमावर्ती सहर काँकडभिट्टा पुगेपछि गाडी र सरकारले सुरक्षामा खटाएको नेपाल प्रहरीका पिएसओ यतै छाडे। र, यादव सिमापारि गए।
सद्भावना पार्टीका केन्द्रीय सदस्य किशोरदयाल मिश्र र रविदत्त मिश्र ४० जनाको टोलीसहित आइतबार भारतको बुटिबंगला पुगे र उत्तर प्रदेश विधानसभाका सभामुख माताप्रसाद पाण्डेलाई तराईमा जारी आन्दोलनलाई सघाउन आग्रह गर्दै ज्ञापनपत्र दिए।

भारतीय गृहमन्त्री राजनाथ सिंह एसएसबीको पोस्ट उद्घाटन गर्न आइतबार लखनउको महाराजगन्ज, परसौनामा आउने चाल पाएपछि आन्दोलनरत मधेसी दलको एक टोली त्यहीँ पुग्यो। स्रोतका अनुसार सो टोलीले सिंहलाई भेट्न नसके पनि मधेसको माग पूरा गराउननिम्ति नेपाल सरकारलाई दबाब दिन सहयोगीमार्फत ज्ञापनपत्र बुझायो।

भदौ पहिलो साता फोरमका उपमहासचिव एवं सभासद अभिषेकप्रताप साह, तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता बृजेशकुमार गुप्ता र सद्भावनाका नेता नरसिंह चौधरी सिद्धार्थनगरको नौगढमा गएर उत्तर प्रदेशका भारतीय जनता पार्टीका लोकसभा सदस्य जगदम्बिका पालसँग भेटेर फर्किए।

काठमाडौंकेन्द्रित आन्दोलन प्रभावकारी नभएपछि तराई फर्किएर आन्दोलनमा होमिएका फोरम, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टीलगायत दलका नेताको भारत आउजाउ ह्वात्तै बढेको छ।

केन्द्रीय तहका नेता हुन् वा जिल्ला तहका, प्रायः हरेक दिन कुनै न कुनै टोली आन्दोलनमा सहयोग खोज्दै सीमावर्ती भारतीय क्षेत्र पुग्ने गरेको छ।

सुरक्षास्रोतले पाएको सूचनामा यस्तो भ्रमणको उद्देश्य स्थानीय भारतीय नेतासँगको भेट र सहयोगको मागमा मात्रै सीमित छैन, उनीहरूले भारतीय नेतासँगै नेपालमा सशस्त्र गतिविधि चलाइरहेका भूमिगत समूहका नेतृत्व र आपराधिक समूहका नाइकेसँग समेत भेटिरहेका छन्।

स्रोतका अनुसार भदौ पहिलो साता आन्दोलनरत दल फोरम र नेपाल सद्भावना पार्टीका नेता भारतीय सीमावर्ती क्षेत्र पुगेर तराईमा हिंसात्मक आन्दोलनमा संलग्न भूमिगत संगठनका नेता जयकृष्ण गोइत र भगत सिंहसँग भेटेर आन्दोलनबारे छलफल गरी फर्किएका छन्।

सुरक्षास्रोतका अनुसार नेपाल सद्भावना पार्टी अध्यक्ष अनिलकुमार झाले गोइत र फोरम नेता अभिषेकप्रताप साहले सिंहसँग भेटेर आन्दोलनमा समर्थक र कार्यकर्ता पठाउन छलफल गरेका थिए।

यसबीचमा गोइतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय राजदूतमार्फत नेपालको अखन्डविरोधी पत्र पठाएका थिए। नेपालमा भूमिगत सशस्त्र गतिविधि सुरु गरेदेखि नै भारतमा रहेका गोइतले साउन २४ मा नेपाल–भारतबीच सम्बन्ध बिगार्ने किसिमको पत्र मोदीलाई पठाएका थिए।

उनले अखिल तराई मुक्ति मोर्चाका नाममा पठाएको पत्रमा दाबी गरेका छन्, ‘मेचीदेखि महाकालीसम्मको तराई क्षेत्र कहिल्यै पनि नेपालका शाह शासक, राजा वा पहाडी (नेपाली) ले जितेका होइनन्, त्यसलाई बेलायती शासकले आफ्नो निहित स्वार्थले नेपाललाई हस्तान्तरण गरेका हुन्। त्यसकारण, मेचीदेखि महाकालीसम्मको मधेसमाथिको नेपाली नियन्त्रण पूर्णतः गैरकानुनी हो।’

यसले तथ्यलाई तोडमोड गरेर नेपालको अखण्डतामाथि धावा बोल्ने गतिविधिमा तराईका हिंसात्मक गतिविधिमा लागेका समूह क्रियाशील रहेको देखाउँछ।

यहीबीच झा भदौ पहिलो साता भारतको सीतामढी पुगेर अखिल तराई मुक्ति मोर्चाका संयोजक अध्यक्ष गोइतसँग भेटेर फर्किए। मातृका यादवसँग सहकार्य गरिरहेका उनी आन्दोलनमा सघाउने प्रस्ताव लिएर गोइत भेट्न गएका थिए।

‘भदौ पहिलो साता उनी (झा) सीतामढी पुगेर तराईकेन्द्रित आन्दोलनमा समर्थन र सहयोगका विषयमा छलफल गरेको सूचना आएको छ,’ सुरक्षा स्रोतले नागरिकसँग भन्यो, ‘अहिलेको आन्दोलन तुहिए केन्द्रीय सत्ताले मधेसको आवाज कहिल्यै नसुन्ने भन्दै समर्थक र सहयोगीलाई आन्दोलनमा सहभागी हुन निर्देशन दिन आग्रह गरेको सूचना हामीसँग छ।’

स्रोतअनुसार २०६३ को मधेस आन्दोलन निर्णायक चरणमा पुगेका बेला सत्ताका लागि सहमति गरेर धोका दिएकाले आफूलाई आन्दोलनरत दलमाथि विश्वास नभएको भन्दै झा आन्दोलनको मागका आधारमा समर्थन गर्न सकिने जवाफ लिएर फर्किए।

यहीबीच फोरम नेपालका नेता अभिषेकप्रताप साहले जनतान्त्रिक तराई–मधेस मुक्ति पार्टीका अध्यक्ष भगत सिंहसँग भेटेको सुरक्षा स्रोतले जानकारी दियो। आन्दोलनरत दलका केही नेताले ज्वाला सिंहसँग समेत भेटेको सूचना सुरक्षा संगठनसम्म आइपुगेको छ।

नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको विश्लेषणमा संविधानको विधेयक, संघीय संरचनाको विरोध गर्दै तराईमा सुरु भएको आन्दोलनमा दलले आशाअनुरूप जनसमर्थन पाएका छैनन्।

सुरक्षास्रोतका अनुसार सिके राउत समूहले आफूहरू स्वतन्त्र मधेसको पक्षमा रहेकाले संविधानबारे मधेसकेन्द्रित दलले चलाइरहेको आन्दोलनप्रति सरोकार नभएको बताए पनि आन्दोलन भड्काउन प्रोपोगान्डामा उनीहरूको संलग्न हुने गरेको खुलेको छ।

सप्तरीको आन्दोलनमा प्रदर्शनकारीलाई गोली हान्न नमान्ने तराई मूलका प्रहरीलाई पक्राउ गरी हिरासतमा राखेको अफवाह फैलाउन राउत समूह सक्रिय रहेको सुरक्षा संगठनले पुष्टि गरेको थियो।

‘उनीहरूले संलग्नता अस्वीकार गरे पनि तराईमा आन्दोलन चर्काउन राउत समूह सक्रिय नै छ,’ तराईको पछिल्लो राजनीतिलाई निकटबाट नियालिरहेका एक सुरक्षा अधिकारीले भने, ‘केन्द्र सरकार र सुरक्षा निकायविरुद्ध सर्वसाधारणलाई भड्काउन प्रोपोगान्डा गर्न उनीहरू सक्रिय छन्।’ नागरिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.