पुरन साह, जनकपुरधाम । दुई सुत्रिय मागसहित विगत पाँच दिनदेखि आमरन अनसनमा बसेका इन्द्रकुमार मधेशानन्दलाई उनका दिदी बहिनीले अनसन स्थलमै पुगेर राखी बाँधिदिएका छन् । जनकपुरको जनकचौकस्थित जनक मन्दिरको प्राङ्गणमा आमरण अनसन थालेका तराई मधेस राष्ट्रिय अभियानका केन्द्रिय सदस्य तथा मधेश अधिकार संघर्ष समितिका सल्लाहकार मधेसानन्दकी बहिनी रञ्जिता झाले अनसनस्थलमै गएर राखी बाँधी दाइको माग पुरागर्न सम्बन्धित पक्षसंग आग्रह गरिन् ।
मधेसानन्दको अनसनका बारेमा थाहा पाएपछि सडकमा हिँड्ने स्थानीय महिलाहरू समेत उनलाई सामूहिक राखि बाँधेर उनको अनसनप्रति समर्थन जनाएका थिए ।
मधेसानन्दको स्वास्थ्य अवस्था बिग्रदै गएको र कुराकानी गर्दा समेत अप्ठयारो हुन थालेको उनको बहिनीले बताइन् । मधेसानन्द २०६२/६३को जनआन्दोलन र ०६३/०६४मा भएको दुबै मधेस आन्दोलनका अगुवाइ गर्ने युवा मध्येका एक हुन् । मधेस आन्दोलनमा पटक पटक घाइते भएका उनी मधेसी नेताले चासो नदेखाउँदा ओझेलका पात्र बनेका मध्येमा जनकपुरमा चिनिन्छन् ।
अहिले उनी जय प्रकाश प्रसाद गुप्तासँग मधेसको विभिन्न अभियानमा सक्रिय भइरहेका छन् । संविधानसभाबाट मधेसको हितको संविधान जारी हुने वातावरण नरहेकाले मधेसी सभासदहरूलाई राजीनामा दिएर मधेस आउनु पर्ने तथा मधेससँग विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने दुई सुत्रीय माग राखी अनसन थालेको पाँचौ दिन हुँदासमेत राज्यले चासो देखाएको छैन ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले शुक्रवार अनसन स्थल पुगेर अनसनका विषयमा कुराकानी गर्नु बाहेक अरू केहि भनेनन् ।



