राजविराज ,१० कार्तिक : सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका उपेन्द्र यादवलाई चुनाव जिताउन राजविराज नगरपालिकाका एक कर्मचारी सक्रिय भएर लागेका छन् ।
राजविराज नगरपालिकाको योजना शाखाका अधिकृत मनोज कुमार यादव जसपा अध्यक्ष यादवको चुनाव प्रचार–प्रसारमा दिनरात खटिई भोट माग्न लागि परेका हुन् ।
जसपाको बलमा निर्वाचन आचार संहिताको धज्जी उडाउँदै अधिकृत यादवले चुनाव प्रचार–प्रसारको क्रममा उपेन्द्र संगै विभिन्न मञ्चमा र घरदैलोमा जाने गरेका छन् भने ‘उपेन्द्र यादवलाई जिताउ सप्तरीलाई बचाउ भोट छातामा’ जस्ता सामाजिक सञ्जालमा चलिरहेको अभियानमा पनि उनी उत्तिकै सक्रिय देखिएका छन् ।
निर्वाचन आयोगले सरकारी कर्मचारीलाई कुनै उम्मेदवारको प्रचार सामग्री सामाजिक सञ्जालमा लाईक कमेन्ट सेयर गर्न रोक लगाएको भएपनि अधिकृत यादवले निर्वाचन आयोगलाई चुनौति दिदै उपेन्द्र जिताउ अभियानमा लागेको विभिन्न तस्वीरहरु समाजिक सञ्जालमै सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमा देखिएका तस्वीरहरुमा अधिकृत यादव खुल्लेआम घरदैलो तथा विभिन्न स्थानमा जसपाले चुनाव लक्षित गरेको भेलाहरुमा उनको उपस्थिती देखिन्छ ।यसअघि ०४ कार्तिकमा राजविराज नगरपालिका कै सभाहलमा अधिकृत यादवले अगुवाई गरी गोप्य तरिकाले नगरपालिकाको सबै कर्मचारीलाई उपस्थित गराई उपेन्द्र यादवलाई बोलाएर शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरेका थिए ।
तर, त्यो तिहार र छठको अवसरमा शुभकामना आदान प्रदान भन्दा पनि उपेन्द्र यादवलाई सबै कर्मचारी मिलेर चुनाव जिताउनु पर्नेमा केन्द्रित रहेको नगरपालिका श्रोतले जनाएको छ । श्रोतका अनुसार नगरपालिकाका कार्मचारीहरु संग उपेन्द्र यादवलाई जसरी पनि चुनाव जिताउनुपर्नेमा लाग्न निर्णय गराईएको थियो ।
जनता समाजवादी पार्टी संग लगाव भएका अधिकृत मनोज कुमार यादव यसअघि पुर्व भौतिक निर्माण तथा यातायात मन्त्री रेणुकुमारी यादवका स्वकीय सचिव थिए । मन्त्री यादव पदबाट हटेपछि मनोज राजविराज नगरपालिकाको निमित्त कार्यकारी अधिकृत बन्नमा जोडबल गरेपनि त्यो काम लागेन । नगरपालालिकाका मेयर भिमराज यादव निलम्बनमा परेपछि अधिकृत यादव निमित्त कार्यकारी अधिकृत बन्नमा सफल हुन सकेन ।



