
काठमाडौँः थारुहट–थारुवान केन्द्रीय संघर्ष समितिले सोमबार टीकापुरमा भएको आतंककारी घटनाको प्रमुख दोषी सरकार भएको आरोप लगाएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष धनिराम चौधरीले यस्तो आरोप लगाएका हुन् ।
‘सोमबार टीकापुरमा थारुहरुका मागलाई कमजोर बनाउन राज्यले सुनियोजित तरिकाले घटना घटाएको हो,’ अध्यक्ष चौधरीले भने, ‘त्यस घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ । उनले थारुहरुका मागप्रति राज्य अझै पनि जिम्मेवार नभएको आरोप लगाए ।
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का सभासद् जनक चौधरीले आफ्नो घरभित्र सेनाको आडमा केही आतंककारीले प्रवेश गरी तोडफोड गरेको आरोप लगाए । उनले घरभित्रै मान्छेलाई जलाउनेसम्मको प्रयास गरेको आरोप लगाए । उनले राज्य थारुहरुको दमनमा उत्रिएको समेत आरोप लगाए ।
सभासद् सुरेन्द्र चौधरीले राज्यले थारु बस्तीमा स्वेत आतंक मच्याएको आरोप लगाए । उनले राज्य दमनमा उत्रिए त्यसको परिणाम गलत आउने चेतावनी दिए । ‘कर्फ्यू लगाएर चौधरी बस्तीमा घर–घरमा पसेर आतंक मच्याउने अधिकार राज्यलाई छैन,’ उनले भने, ‘त्यस्तो दमनको हामी विरोध गर्छौँ । ’
सभासद् रुक्मेणी चौधरीले आफुहरु वार्ता विरोधी नभएको भन्दै हामी आन्दोलनकारी आयौँ है भन्दै वार्तामा जाने वातावरण नभएको वताईन । ‘राज्यले हामीसँग वार्ता गर्नुपर्छ भन्ने नै ठानेको छैन,’ उनले भनिन्,‘हाम्रा माग सम्वोधन गर्न राज्य तयार छ भने हामी वार्तामा बस्न तयार छौँ ।’नयाँपेज



