हुलाकी न्यूज, काठमाडौं २६ मंसिर । थरुहट–मधेशमा जारी आन्दोलनमा कुनै भूमिका नदेखाएका नेताहरु वार्ता समितिमा राखिएका छन् । जसको विरोध थारुहरुले गर्न थालेका छन् ।
थरुहट–थारुवान संयुक्त संघर्ष समितिले प्रधानमन्त्रीको नेतृत्वमा हुने छलफलका लागि धनिराम चौधरीको संयोजकत्वमा एक समिति बनाएको छ भने सरकारी वार्ता टोलीसँग वार्ता गर्न अर्को वार्ता समिति बनाएको छ ।
प्रधानमन्त्रीसँगको वार्ताका लागि बनाइएको वार्ता समितिमा मधेश–थरुहट आन्दोलनमा कहिले पनि नदेखिएका अनुहारहरुलाई राखिएकोप्रति थारुहरुले विरोध जनाएका छन् ।
उक्त समितिमा नेपाली कांग्रेसका संसद तेजुलाल चौधरीलाई राखिएकोप्रति थारुहरुले आक्रोस व्यक्त गरेका छन् । कांग्रेस नेतृत्वको सरकारले ल्याएको संविधान नमानेका थारु–मधेशीले कांग्रेस संसदलाई नै वार्ता टोलीमा राख्नु ठूलो भूल भएको थारु अगुवाहरुले हुलाकी न्यूजलाई बताएका छन् ।
आन्दोलनको क्रममा अहिलेसम्म एक दिन पनि संसद तेजुलाल चौधरी आफ्नो क्षेत्रमा नगएको र थारुहरुले कालोमोसो दल्ने डरले काठमाडौंमै लुकेको थारु युवाहरुको भनाइरहेको छ । कालोमोसो दल्न आन्दोलनकारीले खोजी रहेका व्यक्ति आन्दोलनकारी कै वार्ता टोलीमा हुनु दुःखद कुरा रहेको अगुवाहरुको भनाई रहेको छ ।
अर्कोतर्फ धनीराम चौधरीको पनि विरोध भएको छ । चौधरीले थरुहट आन्दोलनमा खासै भूमिका नदेखाएको भन्दै उनको विरोध गरिएको छ ।
सप्तरीका थारु नेता रामाकान्त चौधरीले समाजिक सञ्जालमार्फत यिनीहरुको आलोचना गरेका छन् ।
‘थरूहट आन्दोलनको बेला सशक्त भूमिका निर्वाह गर्न नसकेको केन्द्रीय अध्यक्ष र थरूहट आन्दोलनमा कुनै भूमिका नरहेको मा। संसद तेजुलाल चौधरीलाई वार्ता समितिमा राख्नु थारू आन्दोलनलाई तुहाउनु हो। चार महिनाभन्दा बढी दिनदेखि जारी आन्दोलनमा एक दिन पनि सप्तरी नआएको व्यक्ति कसरी थारूको नेता हुन सक्छ। त्यही व्यक्तिलाई वार्ता मितिमा राख्नु थरूहट आन्दोलनलाई मजाक बनाएको जस्तो छ,’ उनले फेसबुकमा लेखेका छन्।




