जनकपुरधाम, २५ मंसिर । धनुषाको सबैला बजारमा आज संघीय समावेशी मधेशी गठबन्धनले विशाल विरोध सभा गरेको छ । तमरा अभियान, रामसपा, नेसपा र फोरम गणतान्त्रिक सम्मिलित मधेशी गठबन्धनले आयोजना गरेको विरोधसभामा जनसागर ओर्लिएको थियो ।
विरोध सभामा बोल्दै तमरा अभियानका जयप्रकाश गुप्ताले मधेशीहरूको एउटै बृहद् मेर्चा, एउटै एजेण्डा र एउटै वार्ता टोली हुनुपर्ने बताएका थिए । गुप्ताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु आन्दोलनरत् सबै पक्षसँग सहकार्य गर्न नचाहेको आरोप लगाए । उनले भने, ‘उपेन्द्र जीहरूले मान्नु भएन, तरपनि हामी यसमा विवाद नगरी मोर्चाले दिएकै कार्यक्रममा सहभागी भयौ र मोर्चाले नै वार्ताबाट मधेशीको माग पुरा गराओस भन्ने अपेक्षा राखेका छौं’ ।

गुप्ताले सरकारले संसदमा प्रस्तुत गरेको दुई बिषयको संशोधनबाट र सरकारले भने बमोजिम सीमांकन टुंग्याएर मधेश आन्दोलनको माग पुरा हुन नसक्ने ठोकुवा गरेका छन् । मधेशी मोर्चाले मधेशी जनताको चाहना बमोजिम वार्तालाई अगाडी बढाउनु पर्ने कुरा बताएका छन् ।
सो सभामा नेता शरत्सिंह भण्डारी, अनिल झा र राजकिशोर यादवले मधेश आन्दोलनको अवस्था, गठबन्धनको उद्देश्यको वारेमा आफ्नो धारणा राखेका थिए । सभा मधेसी नेता सुरेन्द्र मंडलको अध्यक्षतामा भएको थियो ।



