रमेश ठाकुर, रौतहट, २५ मसिंर । स्थानीय मधेशी मोर्चाको अगुवाईमा रौतहटको गौर चन्द्रनिगाहपुर जोड्ने ४२ किलोमिटर सडक खण्डमा स्थानियहरुले शुक्रबार मानव साङ्लो बनाएर प्रदर्शन गरेका छन् ।
संयुुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तराई मधेशमा ४ महिना देखी जारी आन्दोलनलाई सरकारले वास्ता नगरेको भन्दै रौतहटको सदरमुकाम गौरको मधेशक्रान्ति चोक देखी चन्द्रनिगाहपुर सम्मको ४२ किलोमिटर लामो सडकखण्डमा स्थानियहरुले हातेमालो गरि मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।
लामो समय देखी मधेशमा जारी रहेको आन्दोलनमा उठेका जायज मांगहरुलाई तत्काल सम्बोधन गरी छिटो भन्दा छिटो सरकारले मधेशमा रहेको विद्यमान समस्याको समाधान गरि तराईमा जारी रहेको बन्द हडताल खुलाउन समेत स्थानियहरुले अपिल गरेका छन् ।
मोर्चा द्धारा निर्धारीत उक्त मानव साङ्लोमा सदरमुकाम गौर लगायत सडकखण्ड आसपासका गाउंहरुको महिला, वृद्धवद्धा, विद्यार्थी र मोर्चाका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । स्थानिय मोर्चाको जिल्लामा निर्धारीत पूर्व विरोधको कार्यक्रम अनुसार शुक्रबार दिउंसो १ बजे देखी सुरु भएको उक्त प्रदर्शन ३ बजे सम्म २ घण्टाको लागि भएको थियो ।



