हुलाकी न्यूज, लुम्बिनी, २५ मंसिर । मधेश आन्दोलनका क्रममा सहिद भएकाहरुलाई श्रद्धाञ्जली दिँदै लुम्बिनीमा ६७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । बिहिबार ६७ औं मानवअधिकार दिवस मनाउने क्रममा लुम्बिनीमा मानवअधिकारकर्मी र स्थानीयहरुले मधेश आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको सम्झनामा दिप प्रज्वलन गरे ।
तराई मानव अधिकार रक्षक संजाल, पश्चिम तराई क्षेत्रीय कार्यालय भैराहवा, मधेश मानव अधिकार गृह(माहुरी होम), श्री बुद्ध आर्दश उच्च मा.वि. खुनगाई र अधियारी नि.मा.वि.को संयुक्त आयोजनामा लुम्बिनीमा प्रभात फेरी निकालिनुका साथै कोणसभा पनि गरिएको थियो । रुपन्देहीको वेथरीमा सहिद परिवारको हाथबाट दिप प्रज्वलन गराई मधेशी सहिदहरुलाई श्रद्धाञ्जली दिइएको थियो ।
लुम्बिनीमा करिव पाँच सय जनाको सहभागितामा भएको कार्यक्रममा तराई मानव अधिकार रक्षक संजालका क्षेत्रीय मानव अधिकार संयोजक शैलेन्द्र अम्बेडकरले तराईको मानव अधिकारको अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक डि.आर. झाले मानव अधिकारको संरक्षण तथा संबर्धन गर्ने प्रतिवद्धता जनाए ।
साँझ ६ बजेको समयमा बेथरी चोकमा दिप प्रज्वलन गरि कोण सभा गरिएको थियो । बेथरीमा भाद्र २९ गते प्रहरीले चलाएको गोली लागि ४ बर्षीय वालक सहित ६ जना सर्वसधारणको मृत्यु भएको थियो ।
उक्त घटनामा सहिद भएकी नन्दनी पाण्डेयका श्रीमान श्रीधर पाण्डेयले पहिलो मैन वत्तिवालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
करिब २ सयको संख्यामा रहेका सहभागीहरुले दिप प्रज्वलन गरेका थिए । दिप प्रज्वलनपछि आयोजना गरिएको कोणसभामा क्षेत्रीय मानव अधिकार संयोजक शैलेन्द्र अम्बेडकरले मानव अधिकारको अवस्थावारे आफ्नो मन्तब्य राखेका थिए । संघीय समाजवादी फोरमका नेता राम औतार यादवले बेथरी घटनाको सम्बन्धमा छानविन गर्न र मानव अधिकारको उल्लंघन राज्य पक्षवाट भएकोले तत्काल रोक्न माग गरेका थिए ।
युवा नेता सन्तोष कुमार पाण्डेयले आफुहरु शन्तिपुर्वक अन्दोलन गरिरहेकोमा प्रहरीले दमन गरी वजारमा गोली चलाई र्निदोष जनताको हत्या गरेको भन्दै भगवान बुद्धको भूमिमा मानव अधिकार हननका घटना रोक्नुपर्ने विचार राखे ।
कार्यक्रममा आन्दोलनरत मधेशी दलका नेताहरुले आन्दोलनका क्रममा आफूहरुले कुनै पनि हिंसात्मक गतिविधि नगर्ने प्रतिबद्धता जनाए । उनीहरुले निर्दोष जनताको हत्या गर्ने प्रहरीमाथि कारवाही हुनुपर्ने माग पनि गरे ।




