१५ माघ ,काठमाडौं / दिपेन्द्र यादव । किसानको माग पुरा गर्न चासो नदेखाएको भन्दै काठमाडौंस्थित कृषिमन्त्री महेन्द्र राय यादवको घर अगाडी जनमत पार्टीका कार्यकर्ताले कालो झण्डा सहित प्रदर्शन गरेका छन् ।
कालो झण्डा सहित प्रदर्शन गर्ने क्रममा प्रहरीले जनमतका तीन कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरेन्द्र चौधरी, अजय चौधरी र संजय मण्डल रहेको जनमत पार्टीले जनाएको छ ।

विगत १ महिनादेखि किसान आन्दोलन जारी रहेपनि सरकारले माग पुरा गर्न चासो नदेखाएपछि जनमतका कार्यकर्ताहरु कृषिमन्त्री यादवको घर अगाडी प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले कृषिमन्त्री मुर्दावाद, किसानको माग पुरा गर, प्रहरी दमन बन्द गर जस्ता नारा लगाएका छन् ।

किसानलाई समयमा मलखाद र बीउबिजन उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुंदे मागसहित जनमत पार्टी आन्दोलनरत छ ।



